कात्तिक १७
डडेल्धुरा-जातीय विभेद र छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक सोच र परम्परागत व्यवहारमा परिवर्तन आवश्यक रहेको सन्देशसहित २७ वर्षदेखि धार्मिक क्षेत्रबाट समानताको अभियान सञ्चालन गर्दै आउनुभएका संस्कारशिरोमणि शुक्लयजुर्वेदाचार्य ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त सम्मानित हुनुभएको छ।
दलित समुदायको जन्मदेखि मृत्युसम्मका वैदिक हिन्दु सनातनी धार्मिक संस्कार, कर्मकाण्ड, सांस्कृतिक परम्परा तथा सामाजिक सशक्तीकरणमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै डडेल्धुरा सुनचाँदी व्यवसायी संघले उहाँलाई सम्मानपत्र प्रदान गरेको हो ।


कात्तिक १७ गते संघको बैठकका क्रममा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष रमेशबहादुर शाक्यसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो। अध्यक्ष शाक्यको नेतृत्वमा संघको सम्पूर्ण टिमले पण्डित पन्तलाई सम्मानपत्र प्रदान गर्दै उहाँले समाजमा पुर्याउनुभएको योगदानको प्रशंसा गरेको हो।
धार्मिक संस्कार र परम्परालाई जातीय विभेदको आधार नभई सामाजिक सद्भाव, सहअस्तित्व र समानताको माध्यम बनाउन पन्तले पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरिएको संघले जनाएको छ।
पन्तले विगत २७ वर्षदेखि जात, थर र समुदायका आधारमा धार्मिक अधिकारमा विभेद हुन नहुने मान्यतासहित अभियान सञ्चालन गर्दै आउनुभएको छ। जन्म संस्कार, विवाह, धार्मिक अनुष्ठानदेखि मृत्युसम्मका वैदिक संस्कारमा सबै समुदायको समान सहभागिता र सम्मान हुनुपर्ने उहाँको अभियानको मुख्य मान्यता हो।
धार्मिक ज्ञान र संस्कार कुनै निश्चित जात वा समुदायको मात्र अधिकार नभई सबैको साझा सांस्कृतिक सम्पत्ति भएको सन्देश प्रवाह गर्दै आउनुभएका पन्तको अभियानले धार्मिक क्षेत्रभित्र समानता र समावेशिताको बहसलाई समेत अगाडि बढाएको छ।
सम्मान कार्यक्रममा संघका अध्यक्ष रमेशबहादुर शाक्यले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा जातीय विभेद पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो। उहाँले कानुनी व्यवस्था र सामाजिक व्यवहारबीच अझै दूरी रहेको उल्लेख गर्दै छुवाछूतमुक्त राष्ट्रको अनुभूति प्रत्येक नागरिकले दैनिक जीवनमा गर्न पाउनुपर्नेमा जोड दिनुभयो।


शाक्यले भन्नुभयो, राज्यले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिसकेको छ। कानुनले पनि जातीय विभेदलाई अपराध मानेको छ। तर व्यवहारमा अझै छुवाछूत र विभेद कायम रहनु दुःखद हो। यसको अन्त्य कागजमा मात्र होइन, नागरिकको व्यवहारमा देखिनुपर्छ।
उहाँले समाजमा शिक्षा र चेतनाको विस्तार भए पनि विभेदकारी सोच पूर्ण रूपमा हट्न नसकेको बताउनुभयो। पहिले प्रत्यक्ष रूपमा देखिने विभेद अहिले कतिपय अवस्थामा शिक्षित र सभ्य व्यवहारको आवरणमा समेत कायम रहेको उहाँको टिप्पणी छ।
विशेषगरी धार्मिक तथा सामाजिक संस्कारमा जातका आधारमा गरिने विभेद अन्त्य हुनुपर्ने उल्लेख गर्दै शाक्यले मानिस जीवित हुँदा मात्र होइन, मृत्युपछिका संस्कारमा समेत समानता कायम हुनुपर्ने बताउनुभयो। कतिपय स्थानमा जातका आधारमा शवदाह गर्ने स्थानसमेत फरक बनाउने प्रचलन रहनु मानवता र सभ्य समाजको मूल्यविपरीत भएको उहाँको भनाइ छ।
जातीय विभेद अन्त्यका लागि धार्मिक संस्था, सामाजिक संघसंस्था, राजनीतिक नेतृत्व, शिक्षित वर्ग र नागरिक समाजले समानताको पक्षमा स्पष्ट भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संघले प्रदान गरेको सम्मानपत्रमा पन्तले दलित समुदायका लागि २७ वर्षदेखि धार्मिक, सांस्कृतिक तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा पुर्याउनुभएको योगदान, त्याग, समर्पण र सेवाभावको उच्च कदर गरिएको उल्लेख छ।
व्यावसायिक गतिविधिसँगै सामाजिक सद्भाव, समानता र मानवीय मूल्य प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वलाई पहिचान गरी अध्यक्षसहित सम्पूर्ण कार्यसमितिको सहभागितामा सम्मान गर्नु संघको सकारात्मक सामाजिक पहलका रूपमा हेरिएको छ।
पण्डित पन्तको सम्मानले जातीय विभेदविरुद्ध धार्मिक क्षेत्रबाट भइरहेका प्रयासलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। सामाजिक रूपान्तरणका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै धार्मिक तथा सांस्कृतिक मान्यतामा समानताको अभ्यास स्थापित गर्नु आवश्यक देखिन्छ।
जातले होइन, कर्म र मानवताले मानिसको पहिचान बनाउने समाज निर्माण गर्नु नै विभेदमुक्त समाजको वास्तविक आधार हो।
