प्यारातालमा पाँचदिने बृहत् सांस्कृतिक महोत्सव हुँदै, पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला-संस्कृतिको उत्सव मनाइने

कात्तिक १८
कञ्चनपुर – प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र स्थानीय सांस्कृतिक पहिचान बोकेको कञ्चनपुरको पुनर्वासस्थित प्यारातालमा प्रथम बृहत् सांस्कृतिक महोत्सव-२०८३ आयोजना हुने भएको छ। प्याराताललाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउने, स्थानीय कला-संस्कृति संरक्षण गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित पाँचदिने महोत्सव आयोजना गर्न लागिएको हो।

पुनर्वास नगरपालिका-९, विचफाँटामा अवस्थित प्यारातालमा आगामी कात्तिक २६ गतेदेखि ३० गतेसम्म महोत्सव सञ्चालन हुनेछ। श्री परोपकार समाज नेपाल, पुनर्वास-९ विचफाँटाको आयोजनामा हुन लागेको महोत्सवको तयारी, उद्देश्य र कार्यक्रमबारे बुधबार प्यारातालस्थित सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

प्यारातालको पहिचान, पर्यटन विकास र समृद्धिको अभियान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले स्थानीयस्तरमा रहेका सांस्कृतिक सम्पदा, मौलिक परम्परा र प्रतिभालाई एउटै उत्सवमा जोड्ने लक्ष्य राखेको छ। साथै प्यारातालको प्राकृतिक तथा पर्यटकीय महत्त्वलाई स्थानीय क्षेत्रभन्दा बाहिरसम्म प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने आयोजकको अपेक्षा छ।

आयोजक संस्थाका अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सचिव ईश्वर बुढा, संस्थाका पदाधिकारी तथा विभिन्न उपसमितिका संयोजकहरूको उपस्थिति रहेको थियो। महोत्सवको मुख्य प्रवर्द्धक पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालय र प्रवर्द्धक पुनर्वास नगरपालिका वडा नं. ९ को कार्यालय रहेका छन्।

स्थानीय उत्सवबाट बृहत् महोत्सवसम्मको यात्रा: आयोजकका अनुसार विगत केही वर्षदेखि प्याराताल क्षेत्रमा मनोरञ्जनात्मक मेला आयोजना हुँदै आएको थियो। सीमावर्ती भारतीय क्षेत्रमा सञ्चालन हुने रात्रिकालीन मेलातर्फ नेपाली नागरिकको आकर्षण बढिरहेका बेला आफ्नै क्षेत्रको पर्यटकीय स्थलमा मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र स्थानीय गतिविधिको अवसर सिर्जना गर्ने उद्देश्यले मेला सुरु गरिएको थियो।

यस वर्ष भने विगतको अनुभवलाई थप व्यवस्थित र फराकिलो बनाउँदै पहिलोपटक बृहत् सांस्कृतिक महोत्सवका रूपमा आयोजना गर्न लागिएको हो। यसले प्यारातालको पहिचान विस्तार गर्नुका साथै स्थानीय समुदायको सहभागिता र अपनत्व बढाउने विश्वास आयोजकले लिएको छ।

पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य:महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय व्यापार, व्यवसाय, उत्पादन तथा आर्थिक गतिविधिसँग जोड्ने आयोजकको योजना छ। महोत्सवमा स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक गतिविधिसँगै प्याराताल क्षेत्रमा निर्माण भएका पर्यटकीय संरचनाको प्रचारप्रसारलाई समेत प्राथमिकता दिइनेछ।

यसबाट स्थानीय व्यवसायी, साना उद्यमी तथा विभिन्न सेवा प्रदायकले आफ्नो गतिविधि विस्तार गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। पर्यटकीय सम्भावना बोकेको प्याराताललाई व्यवस्थित प्रचारप्रसार र निरन्तर प्रवर्द्धन गर्न सके पुनर्वासको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्न सक्ने देखिन्छ।

यस वर्ष प्रवेश टिकटको व्यवस्था, मदिरा पूर्ण निषेध:यसअघि निःशुल्क प्रवेशको व्यवस्था हुँदै आएकोमा यस वर्ष महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। टिकट शुल्कबाट प्राप्त रकम महोत्सवको व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

त्यस्तै, महोत्सव स्थलमा मदिरा सेवन तथा बिक्री-वितरण पूर्ण रूपमा निषेध गरिने जनाइएको छ। पारिवारिक, सुरक्षित र मर्यादित वातावरणमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोजकले स्पष्ट पारेको छ।

प्यारातालको पहिचान राष्ट्रियस्तरसम्म पुर्‍याउने अवसर:स्थानीय प्राकृतिक सम्पदा, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने महोत्सवले प्यारातालको सम्भावना उजागर गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके प्याराताललाई पुनर्वासको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्न सक्छ।

महोत्सवलाई सफल बनाउन स्थानीयवासी,उद्योगी-व्यवसायी, सामाजिक संघसंस्था, युवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता र सहयोगका लागि आयोजकले अपिल गरेको छ।

प्याराताल केवल मनोरञ्जनको स्थल नभई स्थानीय पहिचान, प्राकृतिक सम्पदा र आर्थिक सम्भावनासँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण, प्रचारप्रसार र दीर्घकालीन विकासमा सबै पक्षको सहकार्य आवश्यक देखिन्छ। प्रथम बृहत् सांस्कृतिक महोत्सव त्यस दिशामा अघि बढाइएको एउटा सामूहिक प्रयासका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *