वनदेवी सामुदायिक वनको क्रिकेट प्रतियोगिता सम्पन्न, आयोजक टोली प्रथम

हेमा भट्ट, कात्तिक २०
कञ्चनपुर – स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारासहित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन भएको दोस्रो क्रिकेट प्रतियोगिता-२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा आयोजक वनदेवी सामुदायिक वन उपभोक्ता समूहको टोली प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।

कृष्णपुर नगरपालिका-५ मा कात्तिक २० गते सम्पन्न प्रतियोगितामा झलारीस्थित साइनिङ स्टार युवा जनकल्याण क्लब दोस्रो भएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको आयोजक वनदेवी सामुदायिक वनको टोलीले नगद ५५ हजार ५०० रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको साइनिङ स्टार युवा जनकल्याण क्लबले नगद २५ हजार ५०० रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगिताको समापन समारोह वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र भट्टको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कृष्णपुर नगरपालिका-५ का वडाध्यक्ष टेक पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख विषन भट्ट, नगर सभापति हिमाल मल्ल तथा रैकवार खबर दैनिककी सम्पादक हेमा भट्ट अतिथिका रूपमा सहभागी थिए।

समापन समारोहमा बोल्ने अतिथिहरूले खेलकुदले युवाहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै स्थानीय प्रतिभालाई पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

वनदेवी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने, खेल प्रतिभाको पहिचान गर्ने र समुदायमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।

प्रतियोगिताको सफल समापनसँगै आयोजकले सहभागी खेलाडी, सहयोगी, खेलप्रेमी तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *