कात्तिक ३० हेमा भट्ट
डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्रको विकासलाई प्रदेशको समृद्धि, पर्यटन प्रवर्द्धन र राष्ट्रिय पहिचानसँग जोडेर अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेलअन्तर्गत डडेल्धुरामा सञ्चालित भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले खेलकुदलाई केवल मनोरञ्जन र प्रतिस्पर्धाको विषयमा सीमित नराखी आर्थिक अवसर, सामाजिक एकता र प्रदेशको पहिचान निर्माण गर्ने महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।


उहाँले सुदूरपश्चिममा खेलकुदको अपार सम्भावना रहे पनि त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना, पर्याप्त पूर्वाधार र खेलाडीमैत्री वातावरण आवश्यक रहेको औँल्याउनुभयो। खेलाडीको क्षमता र प्रतिभालाई सही अवसर प्रदान गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको प्रतिष्ठा बढाउन सकिने उहाँको भनाइ थियो।
मुख्यमन्त्री भट्टले गाउँदेखि प्रदेशस्तरसम्म लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रशिक्षण, प्रोत्साहन र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। खेलाडीले आफ्नो भविष्य खेलकुदमै देख्न सक्ने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिने बताउनुभयो।


उहाँका अनुसार खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता सञ्चालन, दक्ष प्रशिक्षकको व्यवस्था र खेलाडीको क्षमता अभिवृद्धिमा लगानी बढाउन सके सुदूरपश्चिमलाई खेलकुदको आकर्षक केन्द्र बनाउन सकिन्छ। डडेल्धुरासहित प्रदेशका सबै जिल्लामा रहेका खेलकुद सम्भावनालाई उजागर गर्दै खेल पर्यटनको विकास गर्नुपर्ने उहाँको धारणा थियो।
विश्वका कतिपय मुलुकले खेलाडीको सफलतामार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएको उदाहरण दिँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका खेलाडीमा पनि देशको नाम उच्च राख्ने क्षमता रहेको बताउनुभयो। त्यसका लागि प्रतिभा पहिचानदेखि खेलाडीको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने योजनासम्म सरकार, खेलकुद निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।


१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलका रूपमा डडेल्धुरामा आयोजित भलिबल प्रतियोगिताको समापन समारोहमा मुख्यमन्त्री भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि नयाँ प्रतिभा छनोट गर्ने आधार तयार गरेको छ।
खेलकुदमा लगानी, खेलाडीलाई सम्मान र प्रतिभालाई अवसर दिन सके मात्रै सुदूरपश्चिमको खेलकुद क्षेत्रले अपेक्षित उचाइ हासिल गर्न सक्ने सन्देशसमेत समापन समारोहले दिएको छ।


















