हेमा भट्ट कात्तिक ३०
कञ्चनपुर – समाजमा अझै विद्यमान बालविवाह र छाउपडीजस्ता हानिकारक सामाजिक कुरीति अन्त्यका लागि बालबालिकाहरू नै अग्रसर हुनुपर्ने सन्देशसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ मा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बैजनाथ बाल क्लबको आयोजनामा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक सहयोग तथा कृष्णपुर नगरपालिका वडा नं. १ को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा टोलस्तरीय तथा वडास्तरीय बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।


बैजनाथ बाल क्लबका अध्यक्ष वासुदेव पाण्डेयको अध्यक्षता तथा वडा नं. १ का अध्यक्ष मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य रत्नादेवी बोहराको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बालविवाह र छाउपडी प्रथाले बालबालिका, किशोरी तथा महिलाको शिक्षा, स्वास्थ्य, सुरक्षा, आत्मसम्मान र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे छलफल गरिएको थियो। बाल क्लबलाई सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउने, बालअधिकारको संरक्षण गर्ने तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानको अगुवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
महिला तथा बालबालिका शाखामा कार्यरत भुवनेश्वरी जोशीले बालविवाहका कानुनी, सामाजिक तथा स्वास्थ्यसम्बन्धी असरबारे जानकारी गराउँदै बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र आत्मनिर्भर बन्ने अवसरमा गम्भीर असर पार्ने बताउनुभयो। उहाँले बालविवाह रोकथामका लागि अभिभावक, विद्यालय, स्थानीय सरकार र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।


त्यसैगरी, एनएनएसडब्ल्यूएका बाल संरक्षण अधिकृत गणेशबहादुर भुलले छाउपडी प्रथाका कारण महिला तथा किशोरीहरूले भोग्नुपरेका शारीरिक, मानसिक र सामाजिक समस्याबारे प्रकाश पार्नुभयो। महिनावारी प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई विभेद र अपमानसँग जोड्न नहुने स्पष्ट पार्दै छाउपडीजस्ता कुप्रथा अन्त्यका लागि परिवारदेखि समुदायसम्म सोच र व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो।
अन्तरक्रियामा सहभागी बाल क्लबका प्रतिनिधिहरूले बालविवाह र छाउपडी प्रथाविरुद्ध बालबालिकाकै तहबाट आवाज उठाउनुपर्ने, विद्यालय तथा समुदायमा निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्ने र बालअधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै बैजनाथ बाल क्लबका अध्यक्ष वासुदेव पाण्डेयले बालविवाह र छाउपडीजस्ता सामाजिक कुरीति अन्त्यका लागि बालबालिकाहरू आफैँ सचेत र सक्रिय बन्नुपर्ने बताउनुभयो। उहाँले बाल क्लब केवल कार्यक्रम आयोजना गर्ने संस्था मात्र नभई समाजमा रहेका गलत अभ्यासविरुद्ध आवाज उठाउने र सकारात्मक परिवर्तनको सन्देश घरघरमा पुर्याउने साझा अभियानको माध्यम बन्नुपर्नेमा जोड दिनुभयो। बालबालिकाको सक्रिय सहभागिता र समुदायको साथबिना सामाजिक कुरीति अन्त्य गर्न कठिन हुने उहाँको भनाइ थियो।


कार्यक्रमले बाल क्लबको नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र बालअधिकारप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै बालबालिकालाई आफ्नै समुदायमा परिवर्तनका संवाहक बन्न प्रेरित गरेको छ।
बालविवाह र छाउपडी अन्त्य गर्नु कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई परिवार, विद्यालय, बाल क्लब, स्थानीय सरकार र सम्पूर्ण समुदायको साझा दायित्व हो। बाल क्लबको सक्रियता, समुदायको प्रतिबद्धता र स्थानीय तहको सहकार्यबाट मात्रै कुरीतिमुक्त तथा बालमैत्री समाज निर्माण सम्भव छ भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।








