कैलाली प्रहरी प्रमुख नरेन्द्र चन्द बने कार्तिक महिनाका उत्कृष्ट प्रहरी

हेमा भट्ट मङ्सिर ४
धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द २०८३ साल कार्तिक महिनाको ‘Police of the Month’ घोषित भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चन्दलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गर्दै प्रशंसापत्र प्रदान गरेको हो।

नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी व्यावसायिकता, निष्ठा, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी सम्हाल्दै मातहतका प्रहरी इकाइहरूमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशंसापत्रमा उल्लेख छ।

सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउनुका साथै आम नागरिकमाझ नेपाल प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रशंसापत्र प्रदान गर्दै आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा थप महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

एसपी चन्दलाई प्रदान गरिएको यस सम्मानले कैलाली प्रहरीको कार्यसम्पादन र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *