मंसिर ३
काठमाडौँ — मौसममा चिसोपन बढेसँगै रुघाखोकी, निमोनिया, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्न थालेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगी चिसोबाट बढी प्रभावित हुन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ।
काठमाडौँ उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिसोका कारण देखिने विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी बढेका छन्।
जाडो मौसममा रुघाखोकी, निमोनिया, ब्रोङ्काइटिस, दम, सीओपीडी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणसँगै छालाका समस्यासमेत बढ्ने चिकित्सकहरू बताउँछन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. अरुण शाहीका अनुसार मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप सामान्य अवस्थाभन्दा बढ्न थालेको छ। गर्मीमा सरुवा रोगका बिरामी बढी आउने भए पनि चिसो मौसममा निमोनिया, दम, सीओपीडी, रुघाखोकी तथा श्वासप्रश्वासका समस्या भएका बिरामी बढी उपचारका लागि आउने गरेका छन्।
वरिष्ठ फिजिसियन डा. लोचन कार्कीले चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम बढ्ने बताउनुभएको छ। चिसोका कारण दम, मुटु तथा फोक्सोसम्बन्धी पुराना समस्या भएका व्यक्तिको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने उहाँको भनाइ छ।
जाडोमा घाँटी दुख्ने, टन्सिल, ब्रोङ्काइटिस, निमोनिया, दम तथा रुघाखोकीका समस्या बढी देखिने गरेका छन्। शारीरिक गतिविधि कम हुनु, बन्द कोठामा बस्नु तथा धुलो र धुवाँको सम्पर्कमा रहनुले पनि स्वास्थ्यमा थप असर पार्न सक्छ। छाला सुख्खा हुने, चिलाउने तथा फुट्ने समस्या पनि चिसो मौसममा बढ्ने चिकित्सक बताउँछन्।
बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा
चिसो मौसममा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित भइसकेको हुँदैन भने ज्येष्ठ नागरिकमा उमेरसँगै रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरू संक्रमणको जोखिममा बढी रहने गर्छन्।
बालबालिकालाई न्यानो कपडा, टोपी, मोजा र पन्जा लगाइदिन तथा राति सुत्दा पर्याप्त न्यानो ओढ्ने व्यवस्था गर्न चिकित्सकको सुझाव छ। ज्येष्ठ नागरिकलाई बिहान र बेलुका अत्यधिक चिसोमा बाहिर निस्कन नदिन, घरभित्र न्यानो वातावरण कायम राख्न र नियमित औषधि तथा स्वास्थ्य परीक्षणमा ध्यान दिन आवश्यक छ।
चिसोबाट बच्न चिकित्सकको सुझाव
– मौसमअनुसार न्यानो कपडा लगाउने र शरीरलाई तातो राख्ने।
– बिहान र बेलुका अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कने।
– तातो, पोसिलो खाना, सुप तथा झोलिला परिकार खाने र पर्याप्त तरल पदार्थ पिउने।
– साबुनपानीले नियमित हात धुने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने।
– खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने र धुलो, धुवाँबाट बच्ने।
– रुघाखोकी लागेका व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्ने।
लगातार ज्वरो आउने, खोकी बढ्दै जाने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, बालबालिकाले दूध खान छाड्ने वा असामान्य रूपमा सुस्ताउने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकले सुझाव दिएका छन्।
सामान्य रुघाखोकी भनेर बेवास्ता गर्दा निमोनियालगायतका संक्रमण गम्भीर बन्न सक्ने भएकाले समयमै उपचार र सावधानी अपनाउन आवश्यक छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको हेरचाहमा परिवारका सदस्यले थप सतर्कता अपनाउनुपर्ने चिकित्सकको जोड छ।
