हेमा भट्ट, मंसिर २
धनगढी – सुदूरपश्चिमको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा मौलिक कला संस्कृतिको राष्ट्रिय पहिचान स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव-२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका-१, पशुपति टोलमा सञ्चालन हुने महोत्सवलाई यस वर्ष व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी सुदूरपश्चिमको समग्र आर्थिक तथा सामाजिक विकासको साझा अभियानका रूपमा अघि बढाउने तयारी गरिएको छ।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव यस क्षेत्रको आर्थिक, व्यावसायिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष महोत्सवलाई थप व्यवस्थित, आकर्षक र उपलब्धिमूलक बनाउने लक्ष्यसहित कृषि, पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीलाई विशेष प्राथमिकता दिइएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए।
अध्यक्ष ओझाका अनुसार १३ दिनसम्म सञ्चालन हुने महोत्सवले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्नेछ। महोत्सव सञ्चालनका विभिन्न गतिविधिमा करिब दुई हजार युवाले रोजगारी पाउने र महोत्सवमा सहभागी व्यापारी तथा व्यवसायीले समेत कम्तीमा थप १ हजार ३०० युवालाई रोजगारी दिने अपेक्षा गरिएको छ। यसरी महोत्सवबाट करिब ३ हजार ३०० युवाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर पाउने आयोजकको भनाइ छ।


महोत्सवले मनोरञ्जनसँगै युवालाई सीप, अनुभव र स्वरोजगारको बाटो देखाउँदै आएको अध्यक्ष ओझाले बताए। उनका अनुसार विगतका महोत्सवमा मःम, चाउमिनलगायत खाद्य परिकारका स्टलमा काम गर्दै खाना पकाउने, व्यवसाय सञ्चालन गर्ने र ग्राहकसँग व्यवहार गर्ने सीप सिकेका कतिपय युवाले पछि आफ्नै व्यवसाय सुरु गरेर सफल उद्यमीसमेत बनेका छन्। महोत्सवबाट सिकेको सीपलाई व्यावसायिक जीवनमा रूपान्तरण गर्न सकिने भएकाले यसलाई युवा उद्यमशीलता विकासको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
स्थानीय उत्पादन तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष सुदूरपश्चिम प्रदेश र स्थानीय बजारका व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको अध्यक्ष ओझाले जानकारी दिए। स्थानीय किसान, उत्पादक, साना उद्यमी तथा व्यवसायीलाई पहिलो प्राथमिकता दिँदै उनीहरूका उत्पादनलाई उपभोक्तासम्म पुर्याउने र बजार विस्तारमा सहयोग गर्ने लक्ष्य राखिएको छ। यसले बाहिरबाट आउने व्यवसायीको तुलनामा स्थानीय उत्पादन र उद्यमलाई पनि महोत्सवमा उचित स्थान र अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस वर्ष महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका करिब ५२४ वटा स्टल रहनेछन्। महोत्सवस्थलमा करिब १५० वटा प्यागोडा शैलीका स्टल निर्माण गरिनेछन् भने प्रवेशद्वारदेखि मुख्य गेटसम्म निर्माण गरिने आकर्षक छाता सडक विशेष आकर्षण बन्नेछ। आयोजकले महोत्सव अवधिभर करिब १५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ।


यसपटक स्थानीय किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने र कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले बृहत् व्यावसायिक कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ। आधुनिक कृषि प्रविधि, तरकारी तथा कृषि उपजको प्रदर्शनी, उत्पादन प्रतिस्पर्धा र व्यावसायिक कृषिसम्बन्धी गतिविधिमार्फत किसानलाई नयाँ प्रविधि, बजार र अवसरसँग जोड्ने तयारी गरिएको छ। कृषि, पशुपालन, जडीबुटी तथा घरेलु उद्योगमा प्रशस्त सम्भावना बोकेको सुदूरपश्चिमका उत्पादनलाई उचित बजार र राष्ट्रिय पहिचान दिलाउन महोत्सव महत्वपूर्ण माध्यम बन्न सक्ने देखिन्छ।
महोत्सवमा सुदूरपश्चिमको मौलिक देउडा, लोकगीत, लोकनृत्य, भाषा, भेषभूषा तथा सांस्कृतिक परम्परालाई विशेष स्थान दिइनेछ। स्थानीय प्रतिभादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका कलाकारको प्रस्तुतिले महोत्सवलाई थप रौनकपूर्ण बनाउनेछ। स्थानीय परिकार, हस्तकला र मौलिक उत्पादनको प्रदर्शनीमार्फत सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई देश–विदेशसम्म चिनाउने लक्ष्य राखिएको छ।
महोत्सवको अर्को महत्वपूर्ण आकर्षण ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रम रहनेछ। प्रदेशको आर्थिक विकास, पर्यटन, कृषि, उद्योग, लगानी, रोजगारी र पूर्वाधार विकासका सम्भावना तथा चुनौतीबारे विज्ञ, नीति निर्माता, उद्योगी व्यवसायी र सरोकारवालाबीच छलफल गरिनेछ। सुदूरपश्चिममा पर्याप्त प्राकृतिक स्रोत, धार्मिक तथा पर्यटकीय गन्तव्य, कृषि उत्पादन र उद्यमशील जनशक्ति हुँदाहुँदै पनि लगानी, पूर्वाधार र बजार पहुँचमा देखिएका चुनौती समाधान गर्न यस्ता बहसबाट ठोस सुझाव र कार्यान्वयनयोग्य योजना आउनुपर्ने अपेक्षा गरिएको छ।
यसैबीच अध्यक्ष ओझाले लामो समयदेखि महोत्सव सञ्चालनका लागि हरेक वर्ष भाडामा जग्गा लिनुपर्ने बाध्यताको अन्त्य गर्न सुदूरपश्चिम प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएका छन्। निरन्तर आयोजना हुँदै आएको महोत्सवका लागि स्थायी जग्गा तथा पूर्वाधारको व्यवस्था नहुँदा आयोजकले वर्षेनी भाडामा जमिन लिएर महोत्सव सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए। प्रदेशको आर्थिक तथा व्यावसायिक गतिविधिसँग जोडिएको यति महत्वपूर्ण महोत्सवका लागि स्थायी महोत्सवस्थल आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले यस विषयलाई विशेष प्राथमिकतामा राखेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। स्थायी महोत्सवस्थल निर्माण हुन सके व्यापार, पर्यटन, उद्योग तथा सांस्कृतिक गतिविधिलाई वर्षभरि नै निरन्तरता दिन सकिने उनको भनाइ छ।


महोत्सवलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मूल आयोजक समितिअन्तर्गत २५ वटा उपसमिति परिचालन गरिएको छ। महोत्सवस्थलमा सीसीटीभी निगरानी तथा आवश्यक सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ। साथै सम्भावित भीड व्यवस्थापन, सवारी आवागमन, पार्किङ, स्वास्थ्य सेवा, खानेपानी, शौचालय, सरसफाइ र खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्ने आयोजकले जनाएको छ। विशेषगरी खाद्य परिकार बिक्री हुने स्टलमा स्वच्छ भान्सा, गुणस्तरीय खाद्य सामग्री, सफा खानेपानी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनु आवश्यक हुनेछ। महोत्सवमा शिक्षा, स्वास्थ्य, सरसफाइ तथा जनचेतनामूलक गतिविधिलाई समेत जोड्न सके यसको सामाजिक महत्व अझ बढ्नेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई सदस्यता नवीकरण गरेका सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अध्यक्ष ओझाले महोत्सवलाई स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलताको विकास, युवा तथा नवउद्यमीलाई प्रोत्साहन, लगानी आकर्षण र पर्यटन प्रवर्द्धनको साझा अभियानका रूपमा स्थापित गर्न खोजिएको बताए। सुदूरपश्चिमको समृद्धि कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले तीनै तहका सरकार, निजी क्षेत्र, राजनीतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमवासी, सञ्चारमाध्यम, सञ्चारकर्मी, शिक्षाकर्मी, विद्यार्थी, उद्योगी व्यवसायी तथा सरोकारवालालाई महोत्सवमा सक्रिय सहभागिता जनाउन र सहयोग गर्न आग्रहसमेत गरेका छन्।
सुदूरपश्चिम प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय गन्तव्य, कृषि उत्पादन, जडीबुटी, मौलिक संस्कृति र उद्यमशील जनशक्तिको अपार सम्भावना बोकेको प्रदेश हो। तर यी सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रचारप्रसार, लगानी, बजार विस्तार, पूर्वाधार विकास र आपसी सहकार्य अपरिहार्य छ। त्यसैले मंसिर २२ देखि धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सवको सफलता स्टल र दर्शकको संख्यामा मात्र सीमित हुनुहुँदैन। स्थानीय किसानको उत्पादनले बजार पाउनुपर्छ, साना व्यवसायीले व्यापार विस्तार गर्न सक्नुपर्छ, युवाले सीप र रोजगारी प्राप्त गर्नुपर्छ तथा प्रदेशका सम्भावनाले नयाँ लगानीकर्ता आकर्षित गर्न सक्नुपर्छ। महोत्सवले सुदूरपश्चिमको पहिचान देश-विदेशसम्म पुर्याउँदै स्थानीय उत्पादन, प्रतिभा र उद्यमशीलतालाई नयाँ उचाइ दिन सके मात्रै यसको वास्तविक उद्देश्य पूरा हुनेछ। महोत्सवको मञ्चबाट सुदूरपश्चिमको सम्भावना बोलोस्, स्थानीय उत्पादनले बजार पाओस्, हजारौँ युवाले रोजगारी र सीप पाऊन् अनि आफ्नै माटोमा भविष्य खोज्ने नयाँ पुस्ताको सपना साकार बनोस्।
