स्वास्थ्य सुधारदेखि मेडिकल शिक्षासम्म सरकारको प्राथमिकता:मुख्यमन्त्री भट्ट

मङ्सिर २
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै प्रत्येक नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

उद्योग वाणिज्य संघ अत्तरियाद्वारा आयोजित स्वास्थ्य युवा महोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न उपचार सेवासँगै रोगको रोकथाम, स्वास्थ्य सचेतना र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगको जोखिम बढ्दै गएको, मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याका घटनाले गम्भीर सामाजिक चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता समस्या न्यूनीकरणका लागि स्वास्थ्य युवा महोत्सवजस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस्ता अभियान प्रशंसनीय रहेको बताउँदै उनले स्वास्थ्य क्षेत्रको सुधार र जनस्वास्थ्यका गतिविधिमा प्रदेश सरकार सहयोग तथा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

भौगोलिक विकटताका कारण विशेषगरी पहाडी तथा दुर्गम क्षेत्रका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न भोग्दै आएको कठिनाइलाई सम्बोधन गर्न सरकारले बैतडीको खोडपे र डडेल्धुराको बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको उनले जानकारी दिए। त्यसैगरी, दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको बताउँदै उनले स्वास्थ्य सेवाको पहुँच विस्तारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

मुख्यमन्त्री भट्टले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष, निरन्तर प्रयास र सामूहिक चाहनाको उपलब्धि भएको बताए। विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा पढाइ अवरुद्ध हुन नहुने उनको भनाइ थियो। संघीय सरकार र डा. गोविन्द केसीबीच भइरहेको सम्झौताका कारण एमबीबीएस अध्ययन प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनले विश्वविद्यालयको शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।

स्वास्थ्य पूर्वाधारको विकास, दक्ष जनशक्ति उत्पादन, रोगको रोकथाम र नागरिकको सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्न सके मात्रै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रले अपेक्षित सुधारको गति लिन सक्ने मुख्यमन्त्री भट्टको धारणा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *