करदाताको सम्मानमा निसर्ग अस्पताल अगाडि, आयकर दाखिलामा धनगढीकै उत्कृष्ट योगदान

मंसिर १ धनगढी – स्वास्थ्य सेवा प्रवाहसँगै राज्यको आर्थिक दायित्व निर्वाहमा समेत उदाहरणीय योगदान पुर्‍याउँदै आएको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये पर्न सफल भएको छ।

आर्थिक वर्ष २०८१/०८२ को आय विवरणका आधारमा आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये परेको भन्दै आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मान गरेको हो।

१५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व कार्यालय धनगढीले अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ। अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान ग्रहण गरेका हुन्।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्नुका साथै राज्यको राजस्व संकलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण निसर्ग अस्पतालले प्रस्तुत गरेको छ। नियमित कर दाखिला र आर्थिक अनुशासनमार्फत राष्ट्रिय विकासमा योगदान पुर्‍याउने करदातालाई गरिएको सम्मानले निजी क्षेत्रलाई जिम्मेवार व्यवसायिक अभ्यासतर्फ थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै आएको निसर्ग अस्पतालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसँगै संस्थागत पारदर्शिता, आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको छ। कर दाखिलामा प्राप्त यो सम्मान अस्पतालका लागि संस्थागत उपलब्धि मात्र नभई राज्यप्रतिको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने व्यवसायिक क्षेत्रका लागि पनि सकारात्मक सन्देश बनेको छ।

यसै अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले निसर्ग अस्पतालसँगै आयुष सर्जिकल र नास्ट कलेजलाई समेत सम्मान गरेको छ।

कर तिर्नु केवल कानुनी बाध्यता मात्र नभई राष्ट्र निर्माणमा नागरिक तथा संस्थाले निर्वाह गर्ने महत्वपूर्ण जिम्मेवारी पनि हो। यस अर्थमा कर दिवसको अवसरमा गरिएको सम्मानले समयमै कर तिर्ने संस्कार, आर्थिक पारदर्शिता र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *