खेमराज भट्ट, मंसिर १
डडेलधुरा – जिल्लाभित्र सञ्चालन भइरहेका विभिन्न मेला तथा शक्तिपीठमा पूजाआजा गर्न आउने भक्तजनको चाप बढेसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराले सक्रियता बढाएको छ। धार्मिक तथा सांस्कृतिक आस्थाका केन्द्रहरूमा भक्तजनको आवागमन बढिरहेको अवस्थामा यात्रुको सुरक्षा र सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका इन्चार्ज प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) गोविन्द बोहराका अनुसार स्याउले बजारदेखि दिपायल सडकखण्डको रडुवासम्म दुई स्थानमा सावधानीसम्बन्धी सूचना बोर्ड राखिएको छ। सडक प्रयोगकर्तालाई सम्भावित जोखिमबारे सचेत गराउने, सावधानीपूर्वक सवारी चलाउन प्रेरित गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बोर्ड राखिएको उहाँले बताउनुभयो।


जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा शक्तिपीठमा दर्शन र पूजाआजाका लागि डडेलधुरासहित अन्य जिल्लाबाट समेत भक्तजन आउने क्रम बढेको छ। यससँगै सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनलाई रोकेर सम्झाइबुझाइ गराउँदै आएको छ। बढी भएका यात्रुका लागि अर्को सवारीसाधनको व्यवस्था गर्न लगाई छुट्टाछुट्टै सवारीसाधनमार्फत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको प्र.ना.नि. बोहराले जानकारी दिनुभयो।
त्यस्तै, निर्माण सामग्री बोकेका सवारीसाधनलाई क्षमताभन्दा बढी भार नबोक्न सचेत गराइएको छ। नियमविपरीत कालो सिसा तथा कालो स्टिकर प्रयोग गरिएको बोलेरो गाडीलाई समेत नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको र सम्बन्धित चालकले आफैँ कालो स्टिकर हटाएको उहाँले बताउनुभयो।
ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था, यात्रु क्षमता, चालकको जिम्मेवारी तथा सडकमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत निगरानी बढाएको छ। विशेषगरी धार्मिक मेला तथा शक्तिपीठ जाने सडकमा यात्रुको चाप, सवारीसाधनको आवागमन र सडकको अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरिएको छ।


धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएका मेला तथा पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको सक्रियता महत्वपूर्ण मानिएको छ। केही मिनेट छिटो पुग्ने हतारो, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र ट्राफिक नियमको बेवास्ताले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले चालक तथा सवारीधनीलाई जिम्मेवार बन्न प्रहरीले आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी क्षमताभन्दा बढी यात्रु नराख्न, निर्माण सामग्री ओभरलोड नगर्न, नियमविपरीत कालो सिसा वा स्टिकर प्रयोग नगर्न, तीव्र गतिमा सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
ट्राफिक प्रहरीको सन्देश स्पष्ट छ-गन्तव्यमा छिटो पुग्नुभन्दा सुरक्षित पुग्नु महत्वपूर्ण हो। धार्मिक यात्रा, मेला र पर्वको खुसीलाई दुर्घटनाको पीडामा बदलिन नदिन चालक, यात्रु र सवारीधनी सबैले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ।

