मंसिर ३
बाजुरा — बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ। हिमाली तथा उच्च पहाडी भूभागको अनुकूल हावापानी र स्याउखेती विस्तारसँगै जिल्लामा उत्पादन बढ्दै गएको हो।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा ३ हजार ३७० क्विन्टल स्याउ उत्पादन भएको छ। चार स्थानीय तहमा भएको उत्पादनमध्ये स्वामीकार्तिक खापर गाउँपालिकामा सबैभन्दा बढी स्याउ फलेको छ।
पालिकागत उत्पादन विवरणअनुसार स्वामीकार्तिक खापरमा १२५ मेट्रिकटन, जगन्नाथमा ९७, बुढीनन्दा नगरपालिकामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ।
कुल उत्पादनमध्ये ५६ प्रतिशत स्याउ बिक्री भएको छ। जिल्लाभित्र तथा बाहिर गरी १ करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिएका छन्। गत वर्ष १ करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो।
जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ। त्यसमध्ये २१० हेक्टरमा उत्पादन भइरहेको छ। खप्तड छेडेदह र गौमुललगायतका क्षेत्रमा समेत स्याउखेती विस्तार हुँदै गएको छ।
उत्पादन बढे पनि किसानले बजार, मूल्य र ढुवानीको समस्या भने झेलिरहेका छन्। वर्षायाममा सडक अवरुद्ध हुँदा स्याउ पाक्ने समयमा बजारसम्म पुर्याउन कठिन हुने गरेको छ। सडक खुलेपछि धनगढी, नेपालगञ्जलगायतका बजारमा स्याउ पुर्याउने गरे पनि ढुवानी खर्च महँगो हुँदा किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन्।
यस वर्ष प्रदेश सरकारबाट ढुवानी अनुदानका लागि बजेट नआउँदा किसानले आफ्नै खर्चमा स्याउ ढुवानी गर्नुपरेको छ। चिस्यान केन्द्रको अभावले बिक्री हुन नसकेको स्याउ भण्डारण गर्न नसक्दा बारीमै खेर जाने समस्या पनि उत्तिकै छ।
स्थानीय जातसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसजस्ता उन्नत जातको स्याउखेती विस्तार हुँदै गएको छ। बिरुवा वितरण, प्राविधिक परामर्श र बगैँचा सुदृढीकरणका कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरिरहेको छ।
सडक स्तरोन्नति, भरपर्दो ढुवानी, शीतभण्डार र बजार व्यवस्थापन प्रभावकारी बनाउन सके बाजुराको स्याउखेती स्थानीय अर्थतन्त्र र किसानको आयआर्जनको बलियो आधार बन्न सक्ने देखिन्छ।
