हेमा भट्ट, मंसिर ४
धनगढी – सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको छ। ट्राफिक प्रहरीको निगरानी, नियमित चेकजाँच, कारबाही र जनचेतनामूलक अभियान निरन्तर सञ्चालन भइरहे पनि दुर्घटनाको दर र मानवीय क्षतिमा अपेक्षित सुधार हुन सकेको छैन। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामै प्रदेशभर ९ सय ९५ वटा सवारी दुर्घटना हुँदा ६३ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६ सय २९ जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी निरीक्षक कटकबहादुर कुँवरले रैकवार खबर दैनिकलाई उपलब्ध गराएको तथ्याङ्कले सुदूरपश्चिमको सडक सुरक्षा अवस्था अझै गम्भीर रहेको देखाएको हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर १ हजार ४ सय ७३ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २ सय ५ जनाको मृत्यु भएको थियो भने २ हजार ५ सय ४३ जना घाइते भएका थिए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले उक्त अवधिमा नियम उल्लङ्घन गर्ने ३९ हजार २ सय १२ वटा सवारी साधन तथा चालकलाई कारबाही गरेको थियो। कारबाहीबाट ३ करोड १८ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३ हजार ६ सय ४१ जनालाई कारबाही गरी १९ लाख ७९ हजार रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीको अभियान कारबाहीमा मात्र सीमित छैन। आर्थिक वर्ष २०८२/०८३ मा सडक दुर्घटना रोकथाम, ट्राफिक नियमको पालना र सुरक्षित यात्रासम्बन्धी ६ हजार २ सय ६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रमबाट १ लाख ९४ हजार ३ सय ९७ जना लाभान्वित भएका थिए।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा पनि ट्राफिक प्रहरीको सक्रियता बढेको देखिन्छ। साउनदेखि कात्तिकसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ७ सय ३० वटा सवारी साधन तथा चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट १ करोड २३ लाख ३६ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ। यस अवधिमा मापसे गरी सवारी चलाउने ६ सय ६२ जनालाई कारबाही गर्दा ३ लाख ६७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
यसैगरी, चार महिनामै ५ हजार ९ सय ९५ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ लाख ३२ हजार २ सय ११ जनालाई सडक सुरक्षा, ट्राफिक नियम र सुरक्षित यात्राबारे सचेत गराइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
तथ्याङ्कले एउटा महत्वपूर्ण प्रश्नसमेत उठाएको छ-ट्राफिक प्रहरीको कारबाही र जनचेतना अभियान बढ्दै जाँदा पनि सडक दुर्घटनाबाट हुने मानवीय क्षति किन घट्न सकेको छैन? प्रहरीको निगरानी र कारबाही आवश्यक भए पनि सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी होइन। चालकको लापरबाही, तीव्र गति, मापसे, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा ट्राफिक नियमको बेवास्ताले दुर्घटनाको जोखिम थप बढाउने गरेको छ।
विशेषगरी राजमार्ग तथा जोखिमयुक्त सडक खण्डमा नियमित निगरानी, तीव्र गति नियन्त्रण, मापसेविरुद्ध कडा कारबाही र सवारी साधनको प्राविधिक अवस्था परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। त्यस्तै, चालक, यात्रु, विद्यालय र समुदायस्तरमा सडक सुरक्षासम्बन्धी व्यवहारिक सचेतना विस्तार गर्नु पनि उत्तिकै जरुरी छ।
राजस्व संकलनभन्दा नागरिकको जीवन रक्षा ठूलो उपलब्धि हो। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नु प्रहरीको जिम्मेवारी हो भने नियम पालना गर्नु प्रत्येक नागरिकको दायित्व हो। सडकमा हुने एउटा सानो लापरबाहीले परिवारको खुसी खोस्न सक्छ भन्ने चेतना सबैमा विकास गर्न सके मात्र दुर्घटना न्यूनीकरणको अभियान सार्थक बन्न सक्छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी निरीक्षक कटकबहादुर कुँवरले रैकवार खबर दैनिकलाई उपलब्ध गराएको विवरणले सुदूरपश्चिममा ट्राफिक व्यवस्थापनको प्रयाससँगै सडक सुरक्षामा थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।
