बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले आजदेखि सुरु गरेको पाचौँ दसैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उहाँले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो ।
“मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औद्योगिक गतिविधि भइरहेको उल्लेख गर्नुभयो । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिनुभयो । मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उहाँको भनाइ छ । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले कोरोना महामारीका कारण धराशयी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला भदौ २० गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1