मांसाहारीहरु दसैँमा मासुलाई निकै महत्त्व दिन्छन्

मांसाहारीहरु दसैँमा मासुलाई निकै महत्त्व दिन्छन् । खसी–बोका, भेडा–च्याङ्ग्राका मासु दसैँमा अत्यधिक खपत हुन्छ । तर, कतिपयलाई लोकल हाँस र कुखुराको मासु मन पर्छ । तिनै उपभोक्तालाई लक्षित गरी हाँस र कुखुराको व्यापारसमेत दसैँमा उल्लेख्य हुने गर्दछ ।उपत्यकाका विभिन्न स्थानमा जिउँदा कुखुरा बिक्री हुने गर्दछन् । व्यवसायीहरुका अनुसार जिउँदा कुखुरा प्रतिगोटा एक हजार तीन सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पर्छ । प्रतिजोडी हाँसको दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने उनीहरुको भनाइ छ ।काठमाडौँ उपत्यकाको कलंकीस्थित खसीबजारको नजिक तीन दिनदेखि रौतहटका उपेन्द्र मुखिया हाँस र कुखुरा बेच्दै छन् । उनले रौतहटबाट ४० वटा कुखुरा, एक सय वटा हाँस बेच्न ल्याएका छन् । कुखुराका भाले एक किलोभन्दा बढी तौलका छन् भने हाँस एकदेखि साढे तीन किलोसम्मका छन् ।मुखियाजस्तै धादिङका व्यापारी दानबीर लामाले पनि ६० देखि ७० वटा लोकल भाले बेच्न ल्याएका छन् । दुईदेखि साढे दुई किलो तौलको लोकल भाले आफूसँग रहेको उनी बताउँछन् । ‘३० वटाभन्दा बढी भाले बेचिसकेँ,’ उनले भने, ‘मसँग भएका कुखुरा प्रतिगोटा १३ सयदेखि १८ सय रुपैयाँ पर्छ ।’

राजाहाँस पनि व्यापारीले बिक्रीका लागि ल्याएका छन्, जसको तौल करिब ५ किलो छ । यो हाँसको मूल्य प्रतिजोडी १० देखि ११ हजार पर्ने उनीहरु बताउँछन् ।खसीको व्यापार खस्कियो

दसैँमा खसी–बोकाको व्यापार खस्किएको व्यापारी बताउँछन् । आर्थिक मन्दीका कारण गत वर्षको तुलनामा खसी–बोका र च्याङ्ग्राको बिक्री कम भएको नेपाल चौपाया बजार बधशाला व्यवस्थापन प्रालिका संस्थापक तथा व्यवस्थापक जीवनराज खतिवडाले बताए । ‘गत वर्ष अष्टमीका दिनसम्म २५ हजार खसी–बोका र च्याङ्ग्रा बिक्री भएका थिए,’ उनले भने, ‘यो वर्ष १५ हजार खसी–बोका र च्याङ्ग्रा बिक्री भएका छन् ।’

खसी–बोका र च्याङ्ग्रामा लागतमूल्य अनुसार बिक्री मूल्य बढ्न नसकेको उनी बताउँछन् । ‘गत वर्ष ढुवानी खर्च कम थियो,’ खतिवडाले भने, ‘१० हजार रुपैयाँभन्दा बढी ढुवानी खर्च हुँदैन थियो, यो वर्ष १३ हजारभन्दा बढी खर्च लागेको छ ।’

उनका अनुसार, उपत्यकामा दाङ, सल्यान, सुर्खेत, कैलाली, दार्चुला लगायत देशका ३५ भन्दा बढी जिल्लाबाट खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याइन्छ । ‘उपत्यकामा महिनामा सरदर २० देखि २१ हजार खसी–बोका बिक्री हुन्छ,’ उनी भन्छन्, ‘दसैँको पाँच दिनमा अरु बेलाको महिना दिनमा बिक्री हुने खसी–बोका र च्याङ्ग्राको व्यापार हुन्छ ।’

खसी–बोका र च्याङ्ग्राको कति पर्छ मूल्य ?

दसैँका लागि विभिन्न जिल्लाबाट भित्र्याइएका जिउँदा खसीको मूल्य प्रतिकिलो ६ सय २५ रुपैयाँदेखि ७ सय पर्ने नेपाल चौपाया बजार बधशाला व्यवस्थापन प्रालि कलंकीले जनाएको छ । बोकाको प्रतिकिलो ६ सय ४० रुपैयाँदेखि ७ सय रुपैयाँ पर्छ । भेडाको मूल्य ७ सयदेखि ८ सय ५० रुपैयाँ पर्छ ।

लेकाली खसीको मूल्य भने केही बढी छ । यो खसी ७ सय देखि ९ सय रुपैयाँ प्रतिकिलोको दरले बिक्री भइरहेको प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply