२६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिए

१२ फागुन धनगढी
थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार प्रसूति अस्पताल प्रवेश गरी त्यहाँबाट काभ्रे घर भएकी एक महिलाको २६ दिने शिशु लिएर फरार भएकी महिलालाई प्रहरीले मध्यराति १२ बजेतिर काठमाडौंको काँडाघारीबाट नियन्त्रणमा लिएको हो।

त्यहाँबाट शिशुलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ।

शिशु लिएर फरार भएकी महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनीसँगै प्रहरीले उनका श्रीमान नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो।

उनीहरूको डेरामा पुग्दा मनकुमारीलाई भर्खर सुत्केरी भएजसरी राखिएको भेटिएको एक प्रहरीले जानकारी दिए।

शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी छन्।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन्।

सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।

शुक्रबार मध्याह्न १२ बजे ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्। बच्चा खोज्दा नभेटिएपछि दिउँसो १ बजेतिर प्रहरीलाई खबर भएपछि प्रहरी खोजीकार्यमा जुटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply