लुम्बिनीका ४ पहाडी जिल्लामा वनको डढेलो बस्तीमा फैलिँदा

१० वैशाख धनगढी
प्यूठानको सल्लाको खोटो डिपोमा लागेको आगो दुई दिनपछि नियन्त्रणमा आएको छ।

जिल्लाको माण्डवी गाउँपालिका– ३ देवीस्थानमा गंगाराम रोजिन एण्ड टरपेन टाइन प्रालिले संकलनपछि भण्डारण गरिराखेका झन्डै साढे सात हजार टिनका बाकसमा संकलन गरिराखेको सल्लाको खोटो आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट झन्डै एक करोड बराबरको संकलित खोटो जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले बताए।

थापाका अनुसार शनिबार दिउँसो २ बजेतिर खोटो संकलन केन्द्रमा आगलागी भएको सूचना आएको थियो। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएको भए पनि शनिबार राति अबेरसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन।

जिल्ला प्रहरी प्रमुख डिएसपी थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान १० बजेपछि मात्रै खोटो संकलन केन्द्रमा लागेको आगो नियन्त्रणमा लिन सफल भएको डिएसपी थापाले बताए।

दुई दिनको अवधिमा वनको डढेलो बस्तीमा पस्दा जिल्लामा १२ घर २३ गोठ र एउटा खोटो संकलन केन्द्रसहित ३६ घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, आगलागीबाट थप एउटा घर र १० गोठमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। पशुचौपायातर्फ एउटा भैंसी, नौ गाई, ३ गोरु, ४४ बाख्रा, ६९ कुखुरा गरी १२६ वटा जलेर मरेका छन्।

त्यस्तै, प्यूठानको जंगलबाटै सल्केको डढेलोले छिमेकी जिल्ला रोल्पामा पनि एक दर्जन बढी घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन्। लुङ्ग्री गाउँपालिकाका स्थानीयका दश घर पाँच गोठ जलेर नष्ट भएका छन्।

शनिबार दिउँसो जंगलको आगो बस्तीमा सल्किँदा लुङ्ग्री गाउँपालिका – १ रिरीपका विभिन्न स्थानीयको घरमा आगलागी हुँदा साढे ६५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय एक वृद्ध जलेर घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख भरत लामाले शनिबार दिउँसो जंगलबाट बस्तीमा सल्केको डढेलोबाट जोगिन सफल भए पनि घरभित्र रहेका अन्तपात, लत्ताकपडा, नगद तथा गरगहना समेत जलेर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए।

सुनछहरी गाउँपालिका–३ स्थित गामको जंगलतर्फ फैलिएको आगो पनि आइतबार दिउँसोसम्म लगभग नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

त्यस्तै, दाङ र प्यूठानको छिमेकी जिल्ला अर्घाखाँचीमा पनि जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा ठूलो आर्थिक क्षति हुन पुगेको छ। यो जिल्लामा चालीस बढी घर गोठ जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतका अनुसार शितगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाअन्तगत विभिन्न दश सामुदायिक वनमा सल्किएको डढेलोले स्थानीयका २० घर र २३ गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट ११ खसी बाख्रा, ६ वटा भैंसी र १ गोरु जलेर मरेका छन्। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण संकलन हुन बाँकी छ। आइतबार दिउँसोसम्म वन क्षेत्र जलेर कालै देखिए पनि बस्ती खतरामुक्त रहेको हुँदा आगो नियन्त्रणमा आएको मान्नुपर्ने रावतले बताए।

अग्नी पीडितका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा बिहानै रेडक्रसकर्मी त्रिपाल लगेर पुगेको, उद्योग वाणिज्य संघका पदाधिकारी चाउचाउ, बिस्कुट, नुन, तेल , चामल जस्ता खाद्यान्न वितरण गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए।

कुन ठाउँमा कति वितरण गरियो भन्ने यकिनका साथ भन्न सक्ने अवस्था नरहे पनि पूर्ण रूपमा घर क्षति भएकाहरूलाई तत्काल बस्न खान समस्या नहोस् भन्ने उद्देश्यका साथ त्रिपालदेखि खाद्यान्न वितरण गरिएको उनले बताए।

आगलागीबाट यो जिल्लामा कति आर्थिक क्षति हुन पुग्यो? भन्नेबारे स्थानीय तहका प्राविधिकहरूले विवरण संकलन गरिरहेको प्रहरीले जानकारी दियो।

त्यस्तै, अर्घाखाँचीको छिमेकी जिल्ला गुल्मीमा पनि जंगलबाट बस्तीसम्म डढेलो फैलिँदा ठूलो आर्थिक नोक्सानी भएको छ।

जंगलबाट फैलिएको डढेलो बिरबासस्थित विद्युत सबस्टेसनसम्म फैलिँदा भुइँमा राखिएको झन्डै एक करोड बराबरको ताल जलेर नष्ट भएको छ। तर, ठूलो प्रयासले विद्युत सब स्टेसनसम्म डढेलो पुग्न नपाएको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले बताए।

सामुदायिक वनबाट बस्तीमा आगो फैलिँदा ४० घर र ४६ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन्। डढेलोमा परी ७५ वटा वस्तु चौपाया मरेको एसपी भुजलले जानकारी दिए।

अग्नी पीडितमध्ये आइतबार १४ घर परिवारलाई जिल्ला प्रशासनबाट उपलब्ध गराइने रकम हस्तान्तरण गरिएको छ। उनीहरूलाई जनही २० हजारका दरले रकम हस्तान्तरण गरिएको एसपी भुजेलले जानकारी दिए। रेडक्रसले त्रिपाल तथा भाँडावर्तन र उद्योग वाणिज्य संघबाट चामल, दाल, तयारी खाना तथा लत्ता कपडा वितरण गरिएको छ।

आगलागीबाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ। आगोले लप्काले भेटाउँदा ट्याक्टरमा सवार दुई जना मानिस पनि घाइते भएका थिए।

भुजेलका अनुसार मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुग्दा ठूलो आर्थिक क्षति भएको हो। घर तथा गोठमा लागेको आगोको क्षति यकिन भइनसके पनि अन्दाजी थप एक करोड बराबरको धनमालको क्षति भएको अनुमान प्रहरीको छ।

जिल्लाको रुरु गाउँपालिका अन्तर्गत रिडी क्षेत्रको जंगलमा आगो लागे पनि बस्ती भने जोखिममा छैनन्। स्थानीय वन जंगलमा कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

शुक्रबारदेखि पहाडी जिल्लाहरूमा चलेको हावा हुरीका कारण स्थानीय जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा त्यसले ठूलो आर्थिक तथा भौतिक क्षति हुन पुगेको प्रहरी बताउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply