आईपीएलमा आज : अस्तित्व रक्षाका लागि बलियो कोलकातासँग भिड्दै मुम्बई

२१ वैशाख धनगढी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी जारी सिजनको बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१औँ खेल हो । यो खेलमा पराजित भएमा मुम्बई उपाधि होडबाट बाहिरिने छ ।

जारी सिजनको आईपीएलमा कोलकाताले १०औं र मुम्बईले ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन कोलकाता नाइट राइडर्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

कोलकाताले यसअघि खेलिएका नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने १६ अंकसहित राजस्थान रोयल्स आसिन छ ।

मुम्बईले यसअघि खेलिएको १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु रहेको छ ।

मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो पहिलो खेल हो । यी दुई टोलीबिच हालसम्म आईपीएलमा खेलिएको खेलमा ७२ प्रतिशत नतिजा मुम्बईले आफ्नो पक्षमा पार्दै आएको छ ।

००

हेड टु हेडमा मुम्बई अगाडि

आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच कुल ३२ खेल खेलिएको छ । त्यसमध्ये २३ खेलमा मुम्बईले कोलकातालाई हराएको छ । बाँकी नौ खेलमा भने कोलकाताले मुम्बईलाई हराएको छ ।

यी दुई टोलीबिच खेलिएका पछिल्ला पाँचमध्ये तीन खेलमा कोलकाताले मुम्बईलाई हराएको छ । तर, वानखेड स्टेडियममा खेलिएका ११ मध्ये केवल दुई खेलमा कोलकाताले जित हात पार्न सकेको छ । यी दुई टोलीबिच पछिल्लो भिडन्त सन् २०२३ मा भएको थियो । त्यो खेलमा मुम्बई पाँच विकेटले विजयी भएको थियो ।

००

मुम्बईको भर तिलक वर्मा र जसप्रित बुमराहमाथि

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । यो सिजन मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तिलक वर्मा हुन् । उनले १० खेलमा कुल तीन सय ४३ रन बनाएका छन् ।

टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा रोहित शर्मा दोस्रो स्थानमा छन् । पूर्वकप्तान रोहितले हालसम्म १० खेल खेल्दै कुल तीन सय १५ रन बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् ।

बुमराहले हालसम्म १० खेल खेल्दै १४ विकेट लिइसकेका छन् । बुमराह यो सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा जेराल्ड कुट्जी रहेका छन् । उनले नौ खेलमा १३ विकेट लिएका छन् ।

००

कोलकाताका लागि सुनिल नारिनको अब्बल प्रदर्शन

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कोलकाता नाइट राइडर्सले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कोलकाताका लागि सुनिल नारिनले अब्बल प्रदर्शन गरेका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा छन् ।

सुनिल नारिनले हालसम्म नौ खेल खेल्दै कुल तीन सय ७२ रन बनाएका छन् । कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने फिल साल्ट हुन् । उनले नौ खेल खेल्दै कुल तीन सय ९२ रन बनाइसकेका छन् ।

कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर पनि सुनिल नारिन नै हुन् । उनले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । कोलकाताका लागि हर्षित राणा र वरुण चक्रवर्तीले पनि ११–११ विकेट लिएका छन् ।

००

छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा कोलकाता र मुम्बईबिच खेल हुने दिन मुम्बईमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार मुम्बईको तापक्रम औसतमा ३४ डिग्री सेल्सियसको हाराहारीमा रहने बताइएको छ ।

००

ब्याट्सम्यानलाई साथ दिने पिच

कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबिच खेल हुने मुम्बईस्थित वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा पहिलो पाली ब्याटिङ गर्ने टोलीले औसतमा एक सय ७० रन बनाउने गरेका छन् ।

यो स्टेडियममा मुम्बई इन्डियन्सले आफ्नो पछिल्लो खेल चेन्नई सुपर किङ्ससँग खेलेको थियो । उक्त खेलमा मुम्बई इन्डियन्सविरुद्ध चेन्नईले दुई सय ६ रन बनाएको थियो ।

००

सम्भावित टोली

कोलकाता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा, वरुण चक्रवर्ती र अनुकुल राय । इम्प्याक्ट प्लेयर : अंगकृप रघुवंशी ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलक वर्मा, नेहल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी, जेराल्ड कुट्जी, पीयुष चावला र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : नुवान थुसरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply