बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

धनगढी असार ३०
बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७६ जना कैदीबन्दी रहेका छन् । कारागारमा ६३ जना कैदी र १३ जना थुनुवा रहेका छन् ।

चार दशक अघि बनेको कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको र त्यसमाथि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने कारणले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागारका जेलर धारा भण्डारीले बताउनुभयो । टिनको छाना भएको भवनमा वर्षातको पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ । उहाँले भन्नुभयो,‘ टिनको छाना खिया लागेर पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन वर्षायाममा कैदीबन्दीलाई निकै समस्या हुने गरेको छ ।’

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको छ । उहाँले भन्नुभयो,“ व्यवस्थापनमा चुनौती छ,ठाउँ अभावमा एउटै बेडमा दुई,तीन जना कैदीबन्दी सुत्ने गरेका छन् । बेड माथि बेड जोडेर बसेका छन् । पानी पर्दा समस्या हुने गरेको छ । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ ।’

एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ । कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाईको लागि समेत समस्या हुने गरेको छ ।

जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ । जेलर आवास गृह, सुरक्षा व्यारेक पनि नभएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“जेलरले २४ सैं घण्टा बस्नुपर्ने भएपनि आवास गृह छैन्, छुट्टै भेटघाट कक्ष छैन,सुरक्षा व्यारेक बनेको छैन् । यसले सुरक्षा चुनौती थपिएको छ ।”
कारागारमा स्वास्थ्यकर्मी समेत नभएकोले कैदीबन्दी सामान्य बिरामी हँुँदा समेत अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा समेत जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौं रिफर गछौं । स्वास्थ्यकर्मी नभएकोबारे जानकारी गराएर माग गरेका छौं ।”

कुनै कैदीबन्दीका आमाबुवा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्था समेत नभएको कारागार कार्यालयले जनाएको छ । बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समयमा बेलाबेला बिजुली सर्ट भएर आगलागीको जोखिम छ,सिसिटिभी पनि बिग्रने गरेको छ ।”

अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भएपनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । दशकौं पुरानो जीर्ण कारागार भवन पुर्ननिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । वि स २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई इस्टमेटसहित पठाएको भएपनि कहिले बन्ने भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply