सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा ´ देहिजाँत` मेला आज

मंसिर १ शनिबार
धनगढी – सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिन्छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। उग्रतारा भगवती मेलामा सुदूरपश्चिम,देशभरि र छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जानकारी गराए । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ हजार दर्शनार्थी पूजा–आराधना गर्न आउँछन्। ‘धेरै श्रद्धालु मेला भर्न गएराति नै डडेल्धुरा सदरमुकाम पुगिसेका छन्,’ उग्रतारा क्षेत्र विकास समितिले भने, ‘बिहानैदेखि विभिन्न जिल्लाका भक्तजनहरु आउने क्रममै छन्।’ श्रद्धालुको डडेल्धुरा सदरमुकाममा घुइँचो नै लागेको छ।

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।

देहिजाँतको महत्त्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ। तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। रतेडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजा बजाउँदै पुजा सुरु हुन्छ । उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठको रुपमा परिचित छ।चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply