सुदूरपश्चिममा झागिंदै संगठित अपराध, प्रहरीमा परे २३ सय ६७ मुद्दा

४ मंसिर धनगढी
सुदूरपश्चिममा संगठित रुपमै अपराध हुने गरेको छ। यसका साथै आर्थिक अपराध पनि उच्च दरमा बढेको छ।

यहाँ २ हजार तीन सय ६७ को संख्यामा संगठित र आर्थिक अपराध भएको भन्दै उजुरी नै दर्ता गरिएको छ। यस विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका हुन्। प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार संगठित र आर्थिक अपराध अन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको अवधिमा मात्र यति ठूलो संख्यामा उजुरी दर्ता भएका छन्।

आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँनयाँ समस्याहरू पनि सँगसँगै सिर्जना गरिदिएको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ। सुदूरपश्चिममा पनि त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ।

जसलाई संगठित अपराधको संज्ञा दिने गरिएको छ। यहाँ संगठित अपराधको जालो नजानिदो पाराले झागिंदै गएको छ। संगठित अपराधमा संलग्नहरुले विशेष गरी हातहतियार कारोबार, लागूपदार्थ ओसारपसार, गैरकानुनी मानव तस्करी, हत्या, मिटरब्याज, साइबर अपराध, अपहरण, किर्ते, ठगी, भ्रष्टाचार र सांस्कृतिक सम्पदाको तस्करीमा संलग्न रहने गरेको पाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा संगठित तथा आर्थिक अपराध अन्तर्गत २२०, आर्थिक वर्ष २०७६/७७ मा २६२, आर्थिक वर्ष २०७७/७८ मा ३८८, आर्थिक वर्ष २०७८/७९ मा ४३७, आर्थिक वर्ष ७९/८० मा ६३० र आर्थिक वर्ष २०८०/८१ मा ४४० मुद्दा दर्ता भएका छन्।

अन्तरदेशीय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिले संगठित अपराधलाई– ‘संगठित अपराध भन्नाले ३ वा ३ भन्दा बढी व्यक्ति सम्मिलित रहेको र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, राजनीतिक एवं अन्य भौतिक लाभ लिनका लागि १ वा १ भन्दा बढी गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको आपराधिक समूह’ भनी परिभाषित गरेको छ।

नेपालको हकमा भने संगठित अपराध ऐन २०७० को दफा ३ मा कसैले पनि संगठित अपराध गर्न नहुने भनी कसैले आपराधिक समूहको लाभको लागि आपराधिक समूहको निर्देशत आपराधिक समूहको तर्फबाट आपराधिक समूहसँग मिलेर आपराधिक समूहको संस्थापक सदस्य भई जानीजानी गम्भीर अपराध गरेमा संगठित अपराध भएको मानिन्छ’, भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply