वीणा सिन्हा
फागुन २ धनगढी
प्रेम सत्यम् शिवम् सुन्दरम् हो। प्रेम सर्वव्यापी, असीमित र अपार हुन्छ। प्रणय दिवस आज ‘भ्यालेन्टाइन्न डे’का नाममा संसारले मनाइरहेका छन्। यसबारे धेरै कथा छन्। तर प्रारम्भिक जानकारी पुरातन रोमनबाट आउँछ। जब उनीहरूले १४ फेब्रुअरीमा आफ्ना देवता जुनोको पूजा गरेका थिए। यद्यपि, आधुनिक भ्यालेन्टाइन डे १४औं शताब्दीको मध्यमा बेलायत र फ्रान्समा मनाउन थालियो।
सबैभन्दा लोकप्रिय कथा ‘सेन्ट भ्यालेन्टाइन’को हो, जो तेस्रो शताब्दीमा रोमन पादरी थिए। धेरै सेन्ट भ्यालेन्टाइनको मृत्युपछि उनको सम्झनामा फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउने गरेको इतिहासकारको विश्वास छ। तेस्रो शताब्दीमा रोममा क्लाउडियस नामका शासक थिए। बिहे गरेमा उसको शक्ति र बुद्धि नष्ट हुन्छ, घरधनी बनेपछि घरपरिवारको जिम्मेवारी बढ्दै जाँदा पुरुषले आफ्नो शक्ति गुमाउन थाल्छन् भन्ने उनको विश्वास थियो। त्यसपछि उनले अनौठो घोषणा गरे– ‘अबदेखि कुनै पनि अफिसर वा सिपाहीलाई विवाह गर्न दिइने छैन।’ यसमा कतिपयले असहमति जनाए। सेन्ट भ्यालेन्टाइन तीमध्ये एक थिए। सेन्ट भ्यालेन्टाइन रोमन पादरीले क्लाउडियसको खुलेर विरोध मात्र गरेनन्, उनले सबैलाई प्रेम र विवाह गर्न प्रोत्साहित गरे। यसै क्रममा केही अफिसर र सिपाहीको विवाह भयो। जब सेन्ट भ्यालेन्टाइनले क्लाउडियसको विश्वासको विपरीत प्रेम र विवाहलाई प्रेरित गरे, त्यसैले उनलाई जेल हाल्ने आदेश दिइयो। उनी थुनिए। अन्ततः सेन्ट भ्यालेन्टाइनलाई फाँसीको आदेश सुनाइयो।
फाँसीको आदेश सुनेपछि, सेन्ट भ्यालेन्टाइनले जेलरकी आँखा नदेख्ने छोरीलाई प्रेमपत्र लेखे– ‘योर भ्यालेन्टाइनबाट।’ यससँगै उनले मायाको फूलको उपहार पनि पठाए। मृत्यु हुनुअघि उनले जेलरलाई भने, ‘म मरेपछि, म तिम्री छोरीलाई मेरा आँखा दिनेछु।’ भ्यालेन्टाइनलाई त्यसबेला फेब्रुअरी १४ मा फाँसी दिइयो। समयसँगै मानिसहरूले यस दिनलाई भ्यालेन्टाइनलाई समर्पण गर्दै ‘भ्यालेन्टाइन डे’ मनाउन थाले। यस दिन प्रेमीप्रेमिकाबीच माया साटासाट गर्ने, प्रेम प्रस्ताव राख्ने, मुटुभित्र दबिएको प्रेम भावना प्रकट गर्ने गरिन्छ। प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई उपहार पनि दिने गरिन्छ।
नेपालमा पनि भ्यालेन्टाइन डे उत्साहका साथ मनाउन थालिएको छ। युवा पुस्ता खानपिन र नाचगानसँगै रमाइलो गर्छन्। कलेजमात्र होइन, विद्यालयबाट पनि यता ध्यान दिने युवा पुस्तामा विदेशी प्रभाव बढेको छ। जसले भविष्यसम्म नराम्रो प्रभाव पार्ने देखिएको छ। हाम्रो संस्कृति, रहनसहन र परम्परा समाज सुहाउँदा छन् तर युवा पुस्ताका लागि पश्चिमी संस्कृति लोभलाग्दो हुन्छ। अहिले विदेशी रहनसहन भेषभूषा, संस्कृति र परम्परा अनुसरणको होड नै चलेको छ। प्रेम पवित्र हुन्छ, प्रेममा त्याग पनि हुन्छ। पे्रम गर्नु र त्यसलाई सभ्य तरिकाले व्यक्त गर्नु गलत होइन। प्रेममा नशा पनि हुन्छ। प्रेममा सबै कुरा सही हुन्छ भनेर अतिरञ्जना गर्नेहरू गरिरहेकै छन्। यस्तो पश्चिमी मुलुकको अनुसरण गर्दा नेपाली संस्कृतिमा आँच नआओस् भनेर ध्यान पुर्याउनु पर्छ।
प्रेमलाई धेरै प्रकारले वर्गीकरण गर्न सकिन्छ। मानव प्रेम, प्रकृति प्रेम, संस्कृति प्रेम, समाज प्रेम, देश प्रेम आदि। यो सबै प्रेम जायज र स्वीकार्य छ। तर प्रेमको आजजस्तो विकृत स्वरूप देखा परिरहेको छ। सार्वजनिक स्थलमा हामी असभ्य र अश्लील व्यवहार देखाउन थालेका छौं। अहिले प्रेम यान्त्रिक हुँदै गइरहेछ। युवा अवास्तविक प्रेमतर्फ मुखरित भएका छन्। सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारले प्रेम–सम्बन्धलाई विवाहमा रूपान्तरण गरे। तर, उनीहरूको विवाहलाई रौनियार परिवार र समाजले सहजै स्वीकार गरेन। दुईजनाको जान मार्ने धम्की आएपछि संसद्मा पनि यो कुरा उठ्यो। २०७७ जेठ १० गते अन्तरजातीय प्रेमसम्बन्धकै कारण रुकुमको सोतीमा नवराज विश्वकर्मालगायत ६ जना युवाको नरसंहार भयो।
यस्तो घटना पनि भइरहेको छ– प्रेमीद्वारा प्रेमिकाको हत्या, पतिबाट पत्नीको हत्या, प्रेमविवाह गर्ने जोडी घरबाटै निकालिए आदि। पवित्र र विशुद्ध प्रेमको सट्टा कृत्रिम र अवैध सम्बन्ध बढिरहेको छ। सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि यस्तो सम्बन्ध बढिरहेको छ। जसकारण महिला बलात्कार र हिंसाको घटना बढिरहेछ। परिवारकै पुरुष सदस्यको अवैधप्रेम सम्बन्धको पासोमा परेर पीडित हुने महिलाले बदनाम हुने डरले सत्य कुरा खोल्न सकेका हुँदैनन्। भनेको खण्डमा उनी परिवार र समाजबाट अपहेलित हुनुपर्छ।
पश्चिमी मुलुकमा अविवाहित पुरुष, विवाहित महिला, एकल पुरुष र महिलाबीच प्रेमसम्बन्ध राख्ने आमप्रचलन छ। बेलायतमा २५ प्रतिशत, डेनमार्क, नर्वे तथा स्विडेनमा ५० प्रतिशत बच्चा यस्तो सम्बन्धबाट जन्मेका हुन्छन्। फ्रान्समा १७.५ तथा अस्ट्रेलियामा २२ प्रतिशत जोडी ‘लिभिङ टुगेदर रिलेसनसिप’मा बसिरहेका हुन्छन्। भारतमा यस्तो सम्बन्धलाई न्यायालयले कानुनी मान्यता दिएको छ। नेपालमा कानुनी मान्यता दिइएको छैन। तापनि यस्तो सम्बन्ध राख्नेको संख्या बढिरहेछ। परिणामस्वरूप दाम्पत्य सम्बन्ध टुट्ने, परिवार विखण्डित हुने जस्ता घटना बढिरहेका छन्। पश्चिमी र विकसित भनिएका समाजमा ८० प्रतिशतभन्दा बढी मुद्दा पतिपत्नीबीचको पारपाचुकेसित सम्बन्धित हुन्छ।
प्रेम गर्नु कुनै अपराध होइन तर प्रेमका नाममा अवैध यौन सम्बन्ध राख्नु वा यस्तै हर्कत प्रदर्शन गर्नु नेपाली समाजमा अपाच्य विषय हो। प्रेम महोत्सव, प्रणय दिवसको नाममा आधुनिक बन्दै दौडनु र देखासिखी गरेर जथाभावी गर्नु कुनै हिसाबले तार्किक हुँदैन। त्यसबाट उत्पन्न परिणामको पनि ख्याल गर्नुपर्छ। वास्तवमा साँचो माया गर्नेका लागि कुनै विशेष साइत, दिवस वा पर्वको बाटो कुर्नु पर्दैन।