गौतमले सहादत प्राप्त गरेको ८ वर्ष पूरा, अझै अगाडि बढेन समाधानको कुरा

हरिश्चन्द्र बाग,
फागुन २६ धनगढी
कञ्चनपुर स्थित नेपाली सीमाको रक्षार्थ सहादत प्राप्त शहीद गोविन्द गौतमको आठौँ स्मृति दिवस मनाइएको छ । उहाँको सम्झनामा पुनर्वास नगरपालिकाले शहीद गौतमको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित शहीद गौतमको सालिकमा श्रद्धा सुमन अर्पण गर्दै जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूले उहाँले देखाएको वीरता र बलिदानको स्मरण गर्नु भएको छ । शहीद गौतमको त्याग नेपाली राष्ट्रियताको प्रतीक भएकाले यस दिनलाई विशेष रूपमा मनाइएको र उहाँको सम्झनामा हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै जाने पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैसीको भनाइ छ ।

खोला पारी रहेको सीमा स्तम्भ उखेलेर गायब गरी त्यस नजिकै रहेको नेपाली भूभाग कब्जा गर्दै आएका भारतीयहरूको हेपाहा प्रवृत्ति र दमनका कारण विभिन्न समयमा भारतीय र नेपाली पक्षको द्वन्द्व भइरहने उक्त क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेपछि भएको उक्त घटनाले भने ठूलै रूप लिएको थियो । २०७३ फागुन २६ गते कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजार क्षेत्रमा कल्भर्ट निर्माणको विषयलाई लिएर भएको विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ज्यान गुमाउनु भएका गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ । देशको सीमा रक्षार्थ सहादत प्राप्त गौतमको सम्मानमा उहाँकै परिवारको नाममा रहेको ५ कट्ठा जमिनमा अर्ध कदको सालिकसहित सहिद गोविन्द गौतम स्मृति पार्क निर्माण गरिएको छ ।

तर स्थानीयवासीले गौतमको बलिदान र नेपाल–भारत सीमा क्षेत्रमा जारी भूमि विवादप्रति राज्यले अझै पर्याप्त चासो नदेखाएको गुनासो गर्नु भएको छ । हालसम्म पनि कञ्चनपुरको हजारौँ बिघा नेपाली भूमिमाथि भारतले दाबी गरिरहेको अवस्थामा शहीद गौतमले देखाएको वीरता र सङ्घर्ष नेपाली राष्ट्रियता र सीमा सुरक्षाका लागि सन्देशप्रद रहेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको भनाइ छ । गोविन्द गौतमले सीमा विवादमै परी ज्यान गुमाएको आठ वर्ष पूरा भइसक्दा समेत अझै सीमा विवादको समाधान हुन सकेको छैन । कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका सीमावर्ती क्षेत्रहरूमा बेलाबेलामा भारतीय पक्षले सीमा अतिक्रमण गर्ने दुष्प्रयास गरिरहेको हुन्छ । सुदूरपश्चिमको सीमा सर्वेका लागि पटक पटक गठन भएका सीमा सर्वे टोलीले अन्य ठाउँहरूमा सर्वे गरी सीमा स्तम्भ समेत निर्माण भइसक्दा पनि सुरक्षा चुनौती देखाउँदै कञ्चनपुरमा केही सीमा स्तम्भ अझैसम्म पनि राख्न सकिएको छैन । जसले गर्दा नेपाली भूमि भारतीय पक्षले कब्जा गर्ने क्रम जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply