हेमा भट्ट
काठमाडौं, नागढुंगा—देशको सुरक्षा गर्ने जिम्मेवारी लिएका, निस्वार्थ सेवा भनेर पहिचान बनाएका प्रहरीबीच नै एकआपसमा भएको कुटपिटको दृश्य आज देशले हेर्नुपर्यो। नागढुङ्गाको ट्राफिक प्रहरी प्रभागमा बुधवार घटेको यो घटनाले केवल एक व्यक्तिको अपमान गरेन, सम्पूर्ण प्रहरी संस्थाको गरिमा च्यातिदियो।
प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले आफ्नै सहकर्मी प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हानेर सार्वजनिक स्थलमै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। त्यो दृश्यले थुप्रै नागरिकको मन दुखायो—हाम्रा सुरक्षाकर्मीको अनुशासन यति कमजोर? हामी कसरी विश्वास गर्ने?
“प्रहरी देशको गहना हो” भन्ने उक्ति फेरि एकपटक जनताको मनमा प्रश्न बन्यो—के यस्तो व्यवहार गर्नेहरू नै हामीलाई सुरक्षा दिन सक्ने पात्र हुन्? प्रहरी संगठनले तुरुन्तै दुवै जनालाई जिम्मेवारीबाट हटाउँदै छानबिन अगाडि बढाएको छ, तर यस्ता घटनाहरू पटक–पटक देखिनु भनेको केवल छानबिनले मात्र पुग्दैन भन्ने संकेत हो।
हामी प्रहरीलाई केवल पोशाकमा होइन, आचरणमा पनि नायक देख्न चाहन्छौँ। जनताले आँखा चिम्लेर विश्वास गर्ने प्रहरी, आफैँ अन्यायको प्रतीक बनेको देख्दा मन गह्रौँ हुन्छ।
यो घटना प्रहरी संगठनभित्र गहिरो आत्ममूल्यांकनको खाँचो भएको संकेत मात्र होइन, चेतावनी पनि हो—अन्यथा जनताको माया, भरोसा र सम्मान हराउँदै जान्छ।