कृष्ण केसी ३० जेठ २०८२
बाँके, राप्ती सोनारी–२ मधुई–हरहरीपुर जोड्ने मार्गमा वर्षौंदेखि पुल अभाव
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ स्थित मधुई, मधुवा र हरहरीपुरलाई जोड्ने ठुरे खोलामा हालसम्म पुल नबन्दा स्थानीय बासिन्दाहरू दैनिक सास्ती भोगिरहेका छन्। खोलामा पुल नहुनुले विशेषगरी विद्यालय जाने बालबालिकालाई उच्च जोखिममा पारिरहेको छ।
वर्खा याममा खोलाको बहाव तीव्र हुने हुँदा बालबालिकाले विद्यालय जान जोखिम मोलेर पानी तर्नुपर्ने अवस्था आउने गर्छ। यसका कारण कतिपय अभिभावकहरूले डरले बालबालिका विद्यालय पठाउन समेत हिच्किचाउने गरेका छन्। स्थानीय वृद्ध, बिरामी, सुत्केरी र अपांगता भएका व्यक्तिहरूका लागि त झन् ठुलो समस्या बनेको छ।
स्थानीयहरूले पटक–पटक सरोकारवाला निकायहरूलाई पुल निर्माणको माग गर्दै आएका छन् तर अहिलेसम्म सुनुवाइ भएको छैन। विकासको नारासँगै बारम्बार आउँने नेताहरूले पुल निर्माणलाई चुनावी एजेन्डा बनाउने गरेका छन् तर निर्वाचनपछि बिर्सने परिपाटी दोहोरिएको छ।
८४ सालको निर्वाचनलाई मध्यनजर गर्दै अबको चुनावी एजेन्डा होइन, तत्काल पुल निर्माण गरियोस् भन्ने माग स्थानीयहरूकाे छ। उनीहरूले सबै राजनीतिक दल र जनप्रतिनिधिलाई समयमै पहल गर्न आग्रह गरेका छन्।