राप्ती सोनारी गाउँपालिकामा सुरु भयो फुस्रो असारे विकास

कृष्ण केसी, असार १४, २०८२
बाँके राप्ती सोनारी गाउँपालिका–२ मा पर्ने मदुवा र मदुई जोड्ने दोन्द्रा खोलामा स्थायी पुलको माग गर्दै आएका स्थानीय बासिन्दा असारे विकास अन्तर्गत हेम पाइप बिछ्याइएपछि आक्रोशित भएका छन्।

स्थानीय ६५ वर्षीय बाढी पीडित सीताराम परियार भन्छन्,

“हामी विकास विरोधी होइनौं, तर पुल बन्ने स्थानमा एक्कासी कसैलाई जानकारी नदिई होम पाइप बिछ्याउनु स्थानीय जनतालाई आँखामा छारो हाल्नु जस्तै हो।”

उनको भनाइमा अनुसार, दोन्द्रा खोलाबाट बारम्बार विस्थापित हुँदै आएका स्थानीय बासिन्दाले गाउँपालिका र वडास्तरका जनप्रतिनिधिलाई वर्षौंदेखि स्थायी पुल निर्माणका लागि आग्रह गर्दै आएका थिए। तर उनीहरूको आवाज बेवास्ता गर्दै अस्थायी हेम पाइप राखिएको भन्दै आक्रोश पोखिएको छ।

एमबहादुर ओली, अर्का एक ६५ वर्षीय स्थानीय बासिन्दा, भन्छन्:

“पुल बन्ने आशामा थियौं, तर सूचना बिना हेम पाइप बिछ्याइयो। यस्तो कामले हामीजस्ता बाढी पीडितलाई अझ संकटमा पार्नेछ।”

स्थानीय युवा जितु चौधरी को पनि गुनासो उस्तै छ।

“हामी दिगो विकास चाहन्छौं। हरेक वर्ष खर्च गर्नुको सट्टा एकपटक स्थायी संरचना निर्माण गरियोस् भन्ने हाम्रो चाहना हो।”

बर्खायाममा उत्तरतर्फबाट आउने दोन्द्रा खोला र राप्ती नदीको पानीले खोलाको बहाव तीव्र हुने गरेको छ। यस्तो अवस्थामा होम पाइपले समस्या समाधान नगरी उल्टै जोखिम बढाउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन्।

स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायसँग पटकपटक हारगुहार गर्दा पनि बेवास्ता हुँदै आएको जनगुनासोले अबको विकासप्रति प्रश्न खडा गरेको छ।

स्थायी संरचना बिना ‘विकास’ को नाममा भइरहेको यस्तो काम जनताको विश्वासमा धोका हो, स्थानीयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply