कृष्ण केसी, असार १५, २०८२
बाँके – राप्ती सोनारी गाउँपालिका, कृषि ज्ञान केन्द्र बाँके, राप्ती सोनारी समन्वय समिति र सह-आयोजक कारितास नेपालको संयुक्त आयोजनामा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रम राप्ती सोनारी गाउँपालिका–५, सिलरिया स्थित खेतबारीमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारीमा कृषि प्रवर्द्धन र विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउँदै, व्यावसायिक कृषि प्रणालीतर्फको ध्यान र आधुनिक प्रविधिको प्रयोगले उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष मनिषा सिंह थारु, बिउ बिजन प्रयोगशाला बाँकेका मुकेश रामजाली, मल तथा माटो प्रयोगशालाका आशिष पाठक, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडी, सहकारी समन्वय समितिका उप-संयोजक गणेश खत्री, गाउँपालिका अन्तर्गतका ३९ सहकारी संस्थाका प्रतिनिधि, अगुवा किसान र वडास्तरीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लाको कुल ३४,५०२ हेक्टर क्षेत्रफलमा १५,१८०८ मेट्रिक टन धान उत्पादन भएको छ। त्यसमा राप्ती सोनारी गाउँपालिकाले ९.७७ प्रतिशत योगदान पुर्याएको हो।
राप्ती सोनारी कृषि शाखाका अनुसार गाउँपालिकामा कुल ६,४८२.९७ हेक्टरमा खेती भई १४,८४३.१५७ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष मौसम अनुकूल रहेमा सो भन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ।
कार्यक्रममा उपसंयोजक गणेश खत्रीले, “उत्पादित कृषि उपजको दिगो बजारीकरणका लागि गाउँपालिकाले भूई किसान र सहकारीहरूको प्रवर्द्धन तथा विकासमा विशेष सहयोग गर्नुपर्छ” भन्ने धारणा राख्नुभयो। कार्यक्रम संयोजन जमान सिंह ओलीले गर्नुभएको थियो।