खेमराज भट्ट / साउन १९, काठमाडौं
काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले सुरक्षा सुदृढीकरणका लागि “समुदायसँगको सहकार्य” लाई पहिलो प्राथमिकता दिने स्पष्ट संकेत दिएका छन्।
तीन दशकभन्दा लामो प्रहरी सेवाको अनुभव बोकेका तामाङले महामारीका कठिन क्षणलाई आफूले सामना गरेको सबैभन्दा चुनौतीपूर्ण समयको रूपमा स्मरण गरे।
उनका अनुसार, “शान्ति–सुरक्षा र मानवताको सन्तुलन मिलाउने त्यो समय गम्भीर जिम्मेवारी थियो।”
समुदायमैत्री प्रहरी प्रणाली
“काठमाडौं उपत्यकाको नेतृत्व जिम्मेवारी मात्र होइन, गम्भीर चुनौती पनि हो,” तामाङ भन्छन्, “मेरो पहिलो लक्ष्य अपराध नियन्त्रण र जनताको विश्वास कायम गर्नु हो।”
प्रविधिमैत्री निगरानी प्रणाली, सशक्त गस्ती, सूचनामा आधारित कारबाही तथा संरचनागत सुधारमार्फत उपत्यकाको सुरक्षा मजबुत बनाउने रणनीति उनको रहेको छ।
उनले भने, “फरक प्रकृतिका चुनौतीहरूको सामना गर्न प्रहरी संगठन थप लचिलो र जनमुखी बन्नु अत्यावश्यक छ।”
समुदायको साथमा सुरक्षा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसालाई रोक्न विशेष टास्क फोर्स, पीडित–मैत्री सेवा केन्द्र र जनचेतनामूलक अभियान सन्चालन भइरहेको जानकारी तामाङले दिए।
“प्रहरी एक्लैले सुरक्षा दिन सक्दैन। समुदायको साथ विना अपराध नियन्त्रण सम्भव छैन,” तामाङको प्रष्ट धारणा छ।
विद्यालय, युवा क्लब, धार्मिक संस्थालाई सामुदायिक प्रहरी अभियानमा समावेश गर्दै सुरक्षालाई जनसहभागी बनाउने तयारी गरिँदैछ।
“पाँच वर्षपछि म प्रविधिमैत्री, पारदर्शी र जनमैत्री प्रहरी संगठन देख्न चाहन्छु,” तामाङले बताए।
नेपाल प्रहरीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित उनले अनुसन्धान, नीति निर्माण र युवा प्रशिक्षणमा सेवानिवृत्तिपछि समेत सक्रिय रहने योजना बनाएका छन्।
जनयुद्ध र १९ दिने जनआन्दोलनमा शान्ति–सुरक्षाको मोर्चामा खटिँदा उनले सामना गरेका कठिनाइहरू सम्झँदै भने, “कहिलेकाहीं ढुंगामुढासमेत खानुपर्यो। आंखाको छेउमा लागेको चोटले झन्डै आँखा गुमाउनु पर्ने थियोे प्लास्टिक सर्जरीसमेत गराउनु पर्यो – तर कहिल्यै पछाडि फर्किएन।”
गीतकार ‘टेक तामाङ’ का नामले पनि परिचित उनी २०८२ सालमा आयोजना गरिएको सांगीतिक साँझमार्फत मानवता र आत्मअनुशासनको सन्देश दिन सफल भएका थिए।
एआईजी तामाङको आगमनसँगै उपत्यकाको सुरक्षा व्यवस्थापनमा नयाँ ऊर्जा र सोचको प्रवेश भएको देखिन्छ। अब मुख्य चुनौती भनेको – यी योजनाहरू व्यवहारमा कति प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भन्ने नै हुनेछ।