खेमराज भट्ट, २० साउन – काठमाडौं
देशको राजधानी काठमाडौंको केन्द्रमै अवस्थित स्काईवाक अहिले पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ। नयाँ पुस्तादेखि वृद्धसम्म, स्वदेशी पाहुनादेखि विदेशी पर्यटकसम्म सबैलाई लोभ्याउने यस संरचनाले राजधानीको सौन्दर्यमा नयाँ रङ थपेको छ।
स्काईवाकको माथिल्लो भागमा उभिएर काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दा एकैपटक पुरै सहर आँखाभरि समेटिन पुग्छ। स्वर्गको झल्को दिने आकाशको नजिक अनुभूति, चिसो हावाको स्पर्श र प्राकृतिक अक्सिजनको मिठासले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ।
एक पर्यटक भन्छन्, “यति रमणीय दृश्य हेर्न पाउँदा शरीर त केवल यहाँ छ, मन भने स्वर्गमै पुगेको महसुस हुन्छ।”
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार, स्काईवाकले काठमाडौंको पर्यटकीय छविलाई थप उचाइमा पुर्याएको छ। यहाँ आउने पर्यटकहरूका लागि फोटो खिच्ने, रमाइला क्षणहरू कैद गर्ने र शान्त वातावरणमा समय बिताउने उपयुक्त गन्तव्यको रूपमा यो स्थान स्थापित हुँदै गएको छ।
एक घुमन्ते युवाको भनाइमा, “यहाँ नआउनेले काठमाडौं बुझेको मानिन्न। स्काईवाक अब नेपाल भ्रमणमा आउने प्रत्येक पाहुनाका लागि अनिवार्य गन्तव्य बन्न थालेको छ।”
देश–विदेशबाट आउने पर्यटकहरू स्काईवाकमा चढेर लिएको अनुभूति कहिल्यै नबिर्सिने बताउँछन्। पुनःपुनः यहाँ पुग्ने चाहना उनीहरूको मुटुभित्र रहन्छ। यसले स्पष्ट पार्छ– नेपाल साँच्चिकै सुन्दर देश हो र स्काईवाकले त्यस सुन्दरतामा नयाँ गहिराइ थपेको छ।
पर्यटन प्रवर्द्धनमा यसको योगदान उल्लेखनीय बन्दै गएकाले यस्ता आकर्षक पर्यटकीय संरचनाहरूको संरक्षण तथा प्रवर्द्धन स्थानीय, प्रदेश तथा संघीय सरकारको साझा जिम्मेवारी रहेको पर्यटन व्यवसायीहरूको धारणा छ।
यदि तपाईं पनि काठमाडौं आउनुहुन्छ भने, स्काईवाकको सौन्दर्य एकपटक अवश्य अनुभव गर्नुहोस् – क्या गजबको दृश्य!