काठमाडौं, २८ साउन — प्रेस काउन्सिल नेपालले गएको एक वर्षमा देशभर ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको जनाएको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा सन् २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मका घटनाहरू अभिलेख गरिएको हो।
काउन्सिलका अनुसार सबैभन्दा बढी धम्की र दुर्व्यवहारका ४१ घटना दर्ता भएका छन्। त्यसपछि आक्रमण/कुटपिटका २२, पेशागत असुरक्षाका १३, कब्जा/अवरोधका ७, पकाउ/पकाउ प्रयासका ७, नीतिगत बन्देजका २, पत्रकार हत्याका १ र जातीय विभेदको १ घटना रहेका छन्।
प्रदेशगत विवरणमा बाग्मतीमा ३८, मधेसमा २५, कोशी र सुदूरपश्चिममा ८/८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएको काउन्सिलले जनाएको छ।
लैङ्गिक आधारमा हेर्दा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका छन्। काउन्सिलका अनुसार एउटै घटनामा एकभन्दा बढी पत्रकार पीडित भएका कारण पीडितको संख्या घटनाभन्दा बढी देखिएको हो।
यस अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी ९ घटना पनि दर्ता भएका छन्। तीमध्ये बाग्मतीमा ४, मधेसमा ३ र कर्णालीमा २ घटना रहेका छन्।
काउन्सिलले प्रेस स्वतन्त्रताको रक्षा गर्ने र सोको दुरुपयोग रोक्ने कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।