खेमराज भट्ट
काठमाडौं – अपराध रोकथाम केवल कानूनको किताबमा मात्र होइन, बुद्धि, साहस र जनसहभागिताको संगममा हुन्छ भन्ने उदाहरण अहिले काठमाडौंमा देखिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरु गरेको ‘ग्यारेज नेटवर्क’ अपराध नियन्त्रणको नयाँ इतिहास बन्दैछ। असारदेखि सुरु गरिएको यो अभियानले दुई महिनामै ५२ चोरी भएका मोटरसाइकल फिर्ता दिलाएको छ, ३२ अपराधीलाई कारागारको ढोका देखाएको छ, र ७ जना फरारलाई पनि प्रहरीको पहुँचमा ल्याएको छ।
जनताको आँखा, प्रहरीको हात
एसएसपी अधिकारीको सोच सरल तर क्रान्तिकारी छ – “ग्यारेज हाम्रो आँखाको रूपमा काम गर्छन्।” बाइक मर्मत गर्ने बहानामा ग्यारेजमा लुकेका अपराधी अब उम्कन सक्दैनन्। ग्यारेज सञ्चालक, मिस्त्री, पार्ट्स पसल र पार्किङ सञ्चालकसम्म पुगेर प्रहरीको हात लम्ब्याइएको छ।
सिसिटिभीको जाल: ग्यारेज, पार्ट्स पसल र पार्किङमा उच्च गुणस्तरको क्यामेरा।
पार्ट्स ट्र्याकिङ: चेसिस र इन्जिन नम्बर अनलाइन डेटाबेसमा, मोबाइलबाट तुरुन्त खोज।
सूचनादाता विस्तार: ग्यारेजबाहेक ट्याक्सी चालक, पार्किङ सञ्चालक र सडकछेउका मिस्त्रीसम्म।
रात्री गस्ती: चोरी ‘हटस्पट’ क्षेत्रमा विशेष टोली।
साउन ५ गते नयाँ बसपार्कमा नक्कली नम्बर प्लेटसहितको पल्सर बाइक भेटिँदा तुरुन्त खबर गर्ने ग्यारेज सञ्चालकको सतर्कताले प्रहरीलाई एकैचोटि सातवटा चोरी घटनाको सिरा फेला पारिदियो।
प्रहरी तथ्याङ्कअनुसार, यो अभियानपछि काठमाडौंमा मोटरसाइकल चोरीको दर २५% ले घटेको छ। सडकमा चल्ने सर्वसाधारणको अनुहारमा सुरक्षित अनुभूतिको झल्को देखिन थालिएको छ।
यो केवल चोरी नियन्त्रणको कथा मात्र होइन, जनसहभागिता र प्रहरीको समन्वयले अपराधलाई कसरी राेक्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो।