धनगढी, भदौ ८ – पश्चिम तराईका थारु समुदायले आज आइतबार विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाएका छन्। हिन्दूहरूको तीज पर्वजस्तै महत्त्व राख्ने अटवारी थारु समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउन मनाइने प्रमुख पर्व मानिन्छ।
शुक्रबार राति दर खाएर दाजुभाइहरूले दिनभरि व्रत बस्ने र साँझ रोटी पकाएर अग्नि देवतालाई चढाएपछि मात्र खाने चलन छ। आइतबार बिहान भात–तरकारी पकाएर देवतालाई चढाएपछि खाने परम्परा रहिआएको छ।
घोराही–१७ की थारु अगुवा सरस्वती चौधरीका अनुसार, रोटीसँगै दही, फलफूल आदि परिकार चढाएर दिदीबहिनीका लागि छुट्याइने अग्रासन बनाइन्छ। उनले भनिन्, “अटवारी पर्व महत्त्वपूर्ण छ, दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्।”
यस्तै, घोराही–३ का सुरज चौधरीले यो पर्व कुसे औँसीपछिको पहिलो आइतबार मनाइने जानकारी दिए। उनका अनुसार, दाजुभाइहरूले दिदीबहिनीलाई रोटी, फलफूल र विभिन्न कोसेली लिएर घरघरमा पुग्दा पर्व सम्पन्न हुन्छ।
थारु संस्कृतिविद् अशोक चौधरीका अनुसार अटवारी पर्व भीम पूजा र सूर्य आराधनासँग पनि जोडिएको छ। महाभारतका पाँच पाण्डव र दाङका थार राजा दङ्गीशरणबीचको मित्रताको प्रतीकस्वरूप यो पर्व मनाउने चलन छ।
कथाअनुसार, शत्रुको आक्रमणमा राजा दङ्गीशरणको पक्षमा भीमले पानीसमेत नखाई युद्ध लडेर विजय दिलाएका थिए। त्यही विजयोत्सवको स्मरणमा थारु समुदायले आजसम्म अटवारी पर्व मनाउँदै आएका छन्।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले बर्का अटवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा थारु समुदायको बाक्लो बसोबास भएकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक बिदा घोषणा गरेको हो।