राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ सम्पन्न

काठमाडौं । युवामा उद्यमशीलता, नेतृत्व, व्यवस्थापन तथा औद्योगिक सीप विकासमा योगदान पु-याउने उद्देश्यसहित राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ भब्यताका साथ सम्पन्न भएको छ ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा करिब पाँच हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा उद्यमशीलता, नेतृत्व तथा व्यवस्थापन सीप विकासका विभिन्न सत्रहरू सञ्चालन भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले युवाहरूसँग राजनीतिक निराशा भन्दा पनि देशमै सम्भावना र अवसरका विषयमा ध्यानाकर्षण गराउनुभयो । बुबाको मुख हेर्ने दिनको सन्दर्भमा उहाँले बुबाआमालाई जीवनभर सम्मान र पूजा गर्नुपर्ने सन्देश दिनुभयो ।

यसै अवसरमा ‘केवाईसी युथ आइकन’ सम्मान सिसन बानियालाई प्रदान गरिएको थियो । डिजिटल मिडिया, चलचित्र निर्माण तथा फोटोग्राफीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान गरेको भन्दै उनलाई अक्षरूपी १ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

त्यस्तै, भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा ऐतिहासिक जित हासिल गरेका एम.एम.ए फाइटर रबिन्द्र ढाँटलाई ‘गेष्ट अफ अनर’ का रूपमा सम्मान गरिएको थियो । ढाँटको उपलब्धिलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्दै आयोजकले युवालाई अनुशासन र संघर्षद्वारा सफलता सम्भव हुन्छ भन्ने सन्देश पुगेको बताए ।

कार्यक्रममा नेपाली पप गायक दुर्गेश थापालाई ‘पर्फर्मर अफ द इयर’ सम्मान प्रदान गरिएको थियो । संगीतमार्फत निरन्तर योगदान दिइरहेको भन्दै उनको भूमिकाको कदर गरिएको हो ।

‘काठमाडौँ युथ कन्क्लेभ’ युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कलाकार, खेलाडी, लेखक, उद्यमी र सरोकारवालाले आफ्ना अनुभव तथा प्रेरणादायी विचार प्रस्तुत गरेका थिए ।

गीत–संगीत, हास्यव्यंग्य, नृत्य र विद्यार्थीहरूको प्रस्तुतीले सभाहल उत्साहमय बनेको थियो । वि.स. २०७६ सालदेखि सुरु गरिएको यो कार्यक्रमको छैठौं संस्करण रहेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply