राजधानीको स्काईवाकमा तिजको रौनक, पर्यटक पनि छमछमी

खेमराज भट्ट, भाद्र ९ काठमाडौं – काठमाडौं उपत्यकाको मुटुमा अवस्थित स्काईवाक यसपालि तिज पर्वका रंग–रौनकले झन् जीवन्त बनेको छ। राजधानीबासी मात्र नभई विभिन्न मुलुकका विदेशी पर्यटकसमेत नेपाली दिदीबहिनीहरूसँगै छमछमी नाच्दा स्काईवाक साँच्चिकै संस्कृति र पर्यटनलाई जोड्ने साझा मंचका रूपमा उदाएको छ।

काठमाडौं उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको स्काईवाक सामान्य दिनमै पनि पर्यटक र स्थानीयवासीको आकर्षण बनेको छ। तर, यस वर्षको तिज पर्वले यसलाई असाधारण बनाउँदै हजारौंको उपस्थितिमा उल्लास, नृत्य र संस्कृति मिसिएको अनुपम दृश्य प्रस्तुत गर्‍यो।

कार्यक्रममा सहभागी महिलाहरू परम्परागत पोशाक, हरियो चुरा, रातो पटुकी, पोते र आभूषणमा सिँगारिएका थिए। उनीहरूले तिजका भाकामा गीत गाउँदै, समुहमा नाच्दै, आपसी हर्ष र भावनालाई बाँड्दै स्काईवाकलाई ‘तिजको मन्दिर’मा परिणत गरेका थिए। महिलाहरूको लहरमा तिजको धुनसँगै हात समाएर उफ्रने दृश्यले सम्पूर्ण वातावरण रौनकिलो बनेको थियो।

तिज पर्वको रमाइलो हेर्न आएका विदेशी पर्यटकहरू पनि केवल दर्शक बनेर बसेनन्। कोहीले भिडियो खिच्दै स्मृतिमा कैद गरे भने कोही नेपाली दिदीबहिनीहरूसँगै नाचेर स्थानीय संस्कृति भोगाइका साथ अनुभव गर्नतिर उन्मुख भए। कतिपयले यसलाई जीवनकै अद्वितीय अनुभव भन्दै प्रशंसा गरे। यसरी विदेशी पर्यटकहरूको सहभागिताले तिजलाई अन्तरसंस्कृतिक पर्वका रूपमा पनि स्थापित गरेको देखियो।

कार्यक्रममा सहभागीले एउटै अनुभव सुनाए – “एक पटक स्काईवाक पुगेपछि दोहोर्‍याएर आउन मन लाग्छ।” यहाँको उचाइबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य, खुला वातावरण, मनोरञ्जनात्मक गतिविधि र सांस्कृतिक प्रस्तुतीले यसलाई युवायुवतीदेखि परिवार र विदेशी पाहुनासम्म सबैका लागि आदर्श गन्तव्य बनाइदिएको छ। तिज पर्वकै बहानामा यहाँ पुगेका धेरैले स्काईवाकलाई आफ्नो ‘फेवरेट स्पट’को सूचीमा राखेको बताउँदै भविष्यमा पनि निरन्तर आउने प्रतिवद्धता जनाए।

तिज पर्वले स्काईवाकलाई केवल मनोरञ्जनको स्थल मात्र नभई सांस्कृतिक–पर्यटनात्मक मिलनस्थलका रूपमा प्रस्तुत गर्‍यो। यसले नेपाली समाजको मौलिक संस्कृति र सामुदायिक एकतालाई झल्काउने मात्र होइन, विदेशी पाहुनालाई पनि नेपाली जीवनशैली, परम्परा र उत्सव नजिकबाट बुझ्ने अवसर दिएको छ। आधुनिक शहरी संरचना र परम्परागत उत्सवबीचको यस्तो संगमले समुदायबीच आपसी एकता र सहकार्यलाई बलियो बनाएको छ।

आयोजकहरूका अनुसार यस्ता कार्यक्रमले काठमाडौंलाई मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ। तिज पर्वमा देखिएको सांस्कृतिक विविधता र एकताको सुन्दर झलकले नेपालको पहिचानलाई विश्वसमक्ष उजागर गर्ने विश्वास व्यक्त गरिएको छ। संस्कृतिको रौनक र आधुनिक पूर्वाधारको मेलले स्काईवाकलाई अझ विशेष बनाउँदै लगेको आयोजकहरूले बताए।

यसपालि तिज पर्वमा सजिएको स्काईवाक साँच्चिकै रङ्गीचङ्गी, रमाइलो र आकर्षक देखिन्थ्यो। राजधानीको मुटुमा भएको यस्तो भव्य सांस्कृतिक जमघटले नेपाली चाडपर्वको महत्वलाई नयाँ पुस्तासम्म पु¥याउने मात्र होइन, नेपाललाई सांस्कृतिक–पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply