खेमराज भट्ट, भाद्र १५-२०८२
काठमाडौं – प्रहरीको जीवन सामान्य जागिर होइन, यो राष्ट्र र जनताको सुरक्षामा जीवन समर्पण गर्ने प्रतिबद्धता हो। यही प्रतिबद्धता बोकेर आफ्नो करियर सुरु गरेका छन् हालै प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त चन्द्र कुबेर खापुङ। उनकाे जीवनयात्रा संघर्ष, बलिदान र समर्पणको जीवित इतिहास हो।
२०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका खापुङले त्यसबेला माओवादी द्वन्द्व चर्किँदै गरेको नेपाल देखेका थिए। तालिम सकेर दंगा नियन्त्रण गण, इटहरीमा खटिएका उनी केही महिनामै म्याग्दी जिल्ला सरुवा भए। त्यतिबेला मुलुक अस्थिर थियो, समाज डर र त्रासमा बाँचेको थियो।
२०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा उनले म्याग्दीमै जिम्मेवारी सम्हाले। त्यसपछि राजधानी फर्किएर २ नं गण, काठमाडौंमा खटिए। त्यहीबेला देश विद्रोहको आगोमा जलिरहेको थियो। खापुङ अग्रपंक्तिमा उभिएर नागरिकको सुरक्षामा खटिन बाध्य भए।
‘किलो शेरा २’ अपरेसनमा सिन्धुली खटिँदा उनले देखाएको साहसले प्रहरी संगठनभित्रै छाप छोड्यो। योगदानका कारण उनलाई ग्रेड बढाइयो, तर अपेक्षित जिम्मेवारी दिइएन। बरु उनलाई हनुमानढोका खटाइयो।
उनको जीवनको सबैभन्दा कठिन घडी भने २०५६ साल मंसिरमा आयो। सिन्धुपाल्चोकको माङ्खामा बिहानै भएको माओवादी आक्रमणले उनको जीवनमै ठुलो घाउ दियो। टोलिमाथि ग्रिनेड प्रहार हुँदा उनी स्वयं कमान्डरको जिम्मेवारीमा थिए। विस्फोटले उनको कम्मर चिरेर रगत बग्न थाल्यो। तत्काल हेलिकोप्टरमार्फत उद्धार गरेर त्रिवि शिक्षण अस्पताल, त्यसपछि प्रहरी अस्पतालमा उपचार गरियो।
जीवन र मृत्युबीचको संघर्षमा उभिएका खापुङलाई धेरैले ड्युटीमै फर्किन सक्दैनन् भनेर सोचेका थिए। तर, उनको आत्मबल र राष्ट्रप्रेमको अगाडि घाइते शरीरले हार मान्न सकेन। केही समयमै उनी पुनः वर्दीसहित सुरक्षाको जिम्मेवारीमा फर्किए।
मोरङमा इन्स्पेक्टर हुँदा उनले उर्लाबारी, नगर प्रहरी विराटनगर र बेलबारी इलाका प्रहरी कार्यालयमा सेवा गरे। अपराध नियन्त्रणमा कडाइ, तर सर्वसाधारणसँग सरल र न्यायपूर्ण व्यवहार गर्ने उनको शैलीले खापुङलाई स्थानीयमाझ लोकप्रिय बनायो।
त्यो समयमा उनलाई प्रहरी इन्स्पेक्टर मात्र नभई जनताको साथीका रूपमा पनि चिनिन्थ्यो। सुर्खेतमा गणपति बिना आफैं इन्चार्ज बनेर गण संचालन गर्नु उनको बहादुरी र जिम्मेवारीबोधको अर्को उदाहरण हो।
खापुङको जीवन एउटा प्रेरक सन्देश बोकेको छ – प्रहरी हुनु भनेको अधिकार भन्दा बढी जिम्मेवारी हो। जीवनको सुख–सुविधा भन्दा ठूलो राष्ट्र र जनताको सुरक्षामा आत्मसमर्पण हो। घाइते शरीर, कठिन सरुवा र अनेक चुनौतीबीच पनि खापुङ कहिल्यै पछि हटेनन्।
आज उनी प्रहरी संगठनको सर्वोच्च पदमा पुगेका छन्। तर, उनको हरेक कदम संघर्ष, त्याग र राष्ट्रप्रेमले भरिएको छ। यही कारणले उनले प्रहरी मात्र नभई समाजकै लागि एउटा आदर्श स्थापित गरेका छन्।
नेपालमा प्रहरी संस्था केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र होइन, लोकतन्त्रको आधारस्तम्भ पनि हो। जनता सुरक्षित भए मात्र राज्य बलियो हुन्छ, र प्रहरीको भूमिका त्यहीँ देखिन्छ। खापुङजस्ता नेतृत्वले प्रहरीलाई जनतासँग नजिक पुर्याउने काम गरेका छन्।
उनले बारम्बार जोड दिएका छन् – “प्रहरी भनेको डर देखाउने शक्ति होइन, नागरिकलाई भरोसा दिलाउने सुरक्षा कवच हो।” यही सोचका कारण प्रहरीप्रति जनताको विश्वास बढेको छ।
राष्ट्रले प्रहरीलाई केवल बल प्रयोग गर्ने संयन्त्रका रूपमा होइन, न्याय दिलाउने संवेदनशील संरचना बनाउनुपर्छ भन्ने सन्देश उनको जीवनले दिएको छ।
उनको कथा सुन्दा लाग्छ – कठिनाइ जीवनको अन्त्य होइन, त्यही कठिनाइलाई अवसरमा बदल्ने साहस नै जीवनलाई गौरवमय बनाउँछ। राष्ट्र र जनताप्रति समर्पणले कसरी सामान्य प्रहरी अधिकृतलाई सर्वोच्च पदसम्म पुर्याउँछ भन्ने खापुङको जीवनले प्रमाणित गरेको छ।
आजका युवापुस्ताले खापुङको जीवनबाट एउटा पाठ लिन सक्छन् – धैर्य, त्याग र आत्मसमर्पणसँग अघि बढे मात्र जीवन अर्थपूर्ण हुन्छ। राष्ट्रप्रेमलाई आत्मसात गरेर सेवा गर्दा घाउ–चोट पनि प्रेरणामा बदलिन्छ।
चन्द्र कुबेर खापुङको जीवन प्रहरी, राज्य र जनता बीचको भरोसा र बलिदानको पुल हो। उनले देखाएको बाटोबाट आजको पुस्ताले सिक्न सक्ने कुरा के हो भने – पद ठूलो भएर मात्र होइन, त्याग र सेवाबाट मात्र जीवनले अर्थ पाउँछ। प्रहरी, सेना वा जुनसुकै पेशामा भए पनि राष्ट्रप्रेम र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्दा मात्र हाम्रो समाज सुरक्षित र समुन्नत बन्छ।