किसान–मजदुर आन्दोलनले पुनः संघर्ष घोषणा

खेमराज भट्ट,
मङ्गलबार भदौ १७ गते
काठमाडौं —“किसान–मजदुर एक होऔं, वित्तीय शोषण र उत्पीडन विरुद्ध संघर्ष गरौं !” भन्ने नारासहित मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले पुनः संघर्षमा जाने घोषणा गरेको छ। आन्दोलनले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।

आन्दोलनले आफूहरू कुनै व्यक्तिको स्वार्थका लागि नभई किसान, मजदुर तथा साना व्यवसायीहरूको न्याय र अधिकारको पक्षमा उभिएको स्पष्ट पारेको छ। यसअघि ४२८ दिनसम्मको धर्ना, पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म पैदल मार्च, न्याय मार्चलगायतका कार्यक्रमले ऐतिहासिक उपलब्धि दिलाए पनि सरकारले पटक–पटक सम्झौता तोडेको भन्दै असन्तोष प्रकट गरिएको छ।

ज्ञापनपत्रमा हजारौं पीडितका निवेदनहरूलाई कुनै अनुसन्धान नगरी रद्दीको टोकरीमा फालिएको उल्लेख गरिएको छ। उल्टै प्रहरी संयन्त्रमार्फत पीडितमाथि कारबाही अघि बढाइएको घटनाले सरकारकै नियतमाथि प्रश्न उठाएको आन्दोलनकारीको भनाइ छ।

साथै, मुलुकी अपराध संहिता २०७४ को दफा २४९ क कार्यान्वयन नगरी साहुमहानलाई जोगाइएकोप्रति आपत्ति जनाउँदै घर–जग्गा लिलामी, पक्राऊ पुर्जी र राज्यको असहयोगले किसान–मजदुरहरू फेरि संघर्षमा उत्रिन बाध्य भएको प्रष्ट पारिएको छ।

आन्दोलनले यही भदौ २५ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। साथै, पीडित–साहुबीच भइरहेका छलफल तत्काल स्थगित गर्न र नयाँ व्यवस्था नआएसम्म सबै प्रक्रिया बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ।

ज्ञापनपत्रको अन्त्यमा आन्दोलनकारीले किसान–मजदुर जिन्दावादको नारा लगाउँदै सरकारलाई आन्दोलनलाई हलुका रूपमा नलिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply