खेमराज भट्ट, भाद्र २४
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज भाद्र २४ गते बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी काठमाडौं महानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम गरिएको आदेशअनुसार काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र तोकिएका सीमाभन्दा भित्र आवाजाही, सभा, जुलुस, प्रदर्शन, बैठक तथा भेला पूर्णतया निषेधित गरिएको छ।
वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथभित्रको भू-भागमा कर्फ्यू लागु हुनेछ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधन सञ्चालनमा कुनै रोकावट हुने छैन। त्यस्तै हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेश कडाइका साथ पालना गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।