काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु : जनजीवन सकसमा

खेमराज भट्ट, भदौ २५
काठमाडौ -उपत्यका फेरि पनि निषेधाज्ञा र कर्फ्युको चपेटामा परेको छ। नेपाली सेनाले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै राखिने जनाएको छ।

यद्यपि, बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक आवतजावतका लागि अनुमति दिइनेछ। उक्त समयमा नागरिकले दैनिक खाद्यान्न, तरकारी, दूध, पानी र औषधि खरिद गर्न पाउनेछन्। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै अत्यावश्यक सामग्री बोकेका सवारी साधन सञ्चालनमा कुनै अवरोध नहुने सेनाले स्पष्ट पारेको छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म जान पाउने व्यवस्था गरिएको छ।

तर आदेशसँगै राजधानीको जनजीवन थप कष्टकर बनेको छ। बिहान बेलुकाको छोटो समय बाहेक नागरिक घरभित्रै थुनिन बाध्य छन्। दिनभरि पसल बन्द, सार्वजनिक यातायात ठप्प र विद्यालयहरू पनि बन्द रहँदा सर्वसाधारण ठूलो असुविधामा परेका छन्।

सडकमा सुरक्षाकर्मीको मात्र उपस्थिति छ भने सर्वसाधारण त्रसित मुद्रामा घरभित्रै सीमित छन्। दैनिक ज्यालामा जीविका चलाउने मजदुरदेखि लिएर बालबालिकाको उपचारका लागि दौडधुप गर्ने आमाबाबुहरू सबै पीडित बनेका छन्।

राजधानी अहिले कानूनी आदेशको चपेटाभन्दा बढी मान्छेको पीडाको छायामा बाँधिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply