काठमाडौं उपत्यकामा प्रहरी सक्रिय, सुरक्षा नियन्त्रणमा कडाइ

खेमराज भट्ट,भदौ २६
काठमाडौं – भदौ २३ र २४ मा राजधानीमा उग्र बनेको ‘जेनजी’ आन्दोलनपछि अस्तव्यस्त बनेको सुरक्षा अवस्था क्रमशः सामान्यतर्फ फर्कन थालेको छ। लामो समयदेखि मौन जस्तै देखिएको नेपाल प्रहरी पुनः सक्रिय बन्दै उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन हुन थालेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, सडकमा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन र तोडफोड–आगलागी रोक्न प्रहरीलाई ड्युटीमा खटाइएको हो। एक प्रहरी अधिकृतले भने, “अब प्रहरी सक्रिय बन्दै गएको छ। राजधानीका संवेदनशील क्षेत्रहरूमा टोली पठाइएको छ, सडकमा पनि उपस्थिति बढाइएको छ।

‘जेनजी’ आन्दोलनले भदौ २३ र २४ मा काठमाडौँ उपत्यकाका प्रहरी वृत्तलाई समेत निशाना बनाएको थियो। प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक कब्जा गरेका थिए। प्रहरीलाई नियन्त्रणभन्दा बाहिर रहेको भन्दै आलोचना बढेपछि बल प्रयोग नगरी स्थितिलाई शान्त गर्ने रणनीति अपनाइएको थियो। तर आन्दोलनपछि राजधानीमा लुटपाट, भीडताली र सुरक्षाको अभाव देखिएपछि प्रहरीलाई सक्रिय बनाइएको हो।

प्रहरीले अहिले हिरासतबाट भागेका कैदीहरूलाई तत्काल सम्पर्कमा आउन अनुरोध गरेको छ। त्यस्तै, आन्दोलनको अवसरमा लुटिएका हातहतियार फिर्ता दिन र प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग नगर्न आम सर्वसाधारणसँग अपील गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हातहतियार र पोसाकलाई गैरकानुनी गतिविधिमा प्रयोग गरिएमा कडा कारबाही गरिनेछ। फरार कैदीहरूले स्वेच्छाले आत्मसमर्पण गरे कानुनअनुसार सजिलो हुनेछ।

उपत्यकाका मुख्य सडकमा विगतका दिनजस्तो भिडभाड नभए पनि अहिले प्रहरीले उपस्थित जनाउन थालेपछि यात्रुहरूलाई सहज भएको छ। व्यवसायी र स्थानीयवासीले पनि सुरक्षाको उपस्थिति बढेपछि केही राहत अनुभव गरिरहेको बताएका छन्।

राजधानीमा अझै त्रासपूर्ण वातावरण मेटिएको छैन, तर प्रहरी सक्रियतापछि सुरक्षाको तस्बिर क्रमशः फेरिँदै गएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply