खेमराज भट्ट, भाद्र ३०
काठमाडौं – अन्तरिम सरकारका ऊर्जा, अर्थ र कानुन तीन मन्त्रालयको जिम्मेवारी एकैसाथ सम्हालेका कुलमान घिसिङले मन्त्रालयका कर्मचारीलाई असाधारण सन्देश दिएका छन्।
मन्त्रालय प्रवेश गरेलगत्तै आयोजित पहिलो बैठकमा मन्त्री घिसिङले भावुक स्वरमा भने,
“म कुनै पदको लागि आएको होइन, देश बनाउन आएको हुँ। मलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ। म कति खट्नुपर्छ भनेर मैले राम्ररी बुझेको छु। तपाईंहरूलाई पनि डराउनु पर्दैन। इमानदारीपूर्वक खटेर १८ घण्टा काम गर्ने मानसिकता बनाउनुपर्छ।”
उनले थपे,
“म मेरा पराया छैनन्, मेरा आफ्ना पनि छैनन्। यहाँ सबै कर्मचारी, सबै नेपाली हौं। यो देश हाम्रो हो। हामी सबैले मिलेर बनाउनुपर्ने हो।”
मन्त्री घिसिङको स्वरमा दृढता मात्र थिएन, राष्ट्रप्रेमको आह्वान, कर्मचारीलाई उर्जा दिने प्रेरणा र सेवाभावको गहिरो चेतना पनि मिसिएको थियो।
उनले स्पष्ट सन्देश दिए– पद, पहुँच र राजनीति भन्दा माथि उठेर काम गर्ने वातावरण बनाउनुपर्नेछ। जनताको भरोसा जित्नकै लागि इमानदारी र पारदर्शितालाई आधार बनाउनुपर्ने भन्दै सबैलाई “आफ्नो जिम्मेवारीलाई राष्ट्रसेवा ठानेर खटिनु” आग्रह गरे।
बैठकमा सहभागी कर्मचारीहरूको आँखामा आश्चर्य र उत्साह दुवै झल्किएको देखिन्थ्यो। एक वरिष्ठ अधिकृतले भने, “यसरी हौंसला दिने र डर नभनी इमानदारीपूर्वक काम गर्न प्रेरित गर्ने मन्त्री हाम्रो जीवनमा पहिलो पटक भेट्टायौं।”
देश संकटमा छ। तर यस्तो बेला कुलमान घिसिङ जस्ता दृढ र समर्पित नेताले जनतालाई फेरि पनि आशाको उज्यालो देखाएका छन्। उनका शब्दहरूले सिंहदरबार मात्र होइन, देशभरका जनताको मुटु छोएको छ।