खेमराज भट्ट
काठमाडौं, असोज ७
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिक मंगलबार अपराह्न पुनः ठूलो पहिरो खसेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। दिउँसो ४:५५ बजे खसेको पहिरोका कारण दुईतर्फी सवारी साधन रोकिएका छन्।
सडक डिभिजन भरतपुरका अनुसार माथिबाट निरन्तर माटो र ढुंगा खसिरहेकाले पन्छाउने काममा कठिनाइ भइरहेको छ। ‘बारम्बार ढुङ्गा खसिरहेकाले जेसीबी परिचालन गर्नसमेत गाह्रो भएको छ,’ डिभिजनका एक अधिकारीले बताए। उनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रहसमेत गरे।
यसअघि मंगलबार दिउँसो १ बजेदेखि नै पहिरो खसेर सडक बन्द भएको थियो। तर अपराह्न थप ठूलो पहिरो खस्दा समस्या झन् गम्भीर बनेको हो।
असोज ३ गते साँझ पनि यही खण्डमा ठूलो पहिरो खसेर करिब ४५ घण्टा सडक अवरुद्ध बनेको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा ल्याइए पनि निरन्तर सुक्खा पहिरो खसिरहेकाले यात्रा सहज हुन सकेको छैन।
दशैं मनाउन घर फर्किरहेका हजारौँ यात्रु बाटैमा अल्झिएका छन्। लामो समयसम्म सडक बन्द हुँदा यात्रु मात्र होइन, तरकारी, खाद्यान्न र अन्य आवश्यक सामग्री ढुवानीसमेत प्रभावित भएको स्थानीय व्यापारीहरू बताउँछन्।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले रैकवार खबर दैनिकलाई बताएअनुसार अपराह्न ५ बजे गएको पहिरोले सम्पूर्ण आवतजावत रोकिएको छ। उनका अनुसार, ‘ठूल्ठूला ढुङ्गा खसिरहेकाले काम गर्न कठिन छ। तर प्रहरी र डोजर सहितको टोली खटिएको छ।