काठमाडौं, असोज ९
मुग्लिन–नारायणगढ सडकखण्ड तुइन खोलानजिकै खसेको ठूलो पहिरो तत्काल हटाउन नसकिने भएको छ। बुधबार साँझको भीषण वर्षापछि खसेको पहिरो पन्छाउन रातभर प्रयास गरिए पनि साँघुरो स्थानका कारण कार्य अवरोध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार बिहान ५:३० बजेदेखि नै नारायणगढ र मुग्लिन दुबै दिशाबाट पाँचवटा उपकरण परिचालन गरिएका छन्। तर, ठाउँ साँघुरो भएकाले सबै मेसिन एकैपटक सञ्चालन गर्न नसकिँदा काम ढिलो भइरहेको छ।
यसअघि डिभिजन कार्यालयले दुई दिनभित्र सडक खुलाउने दाबी गरे पनि अब भने थप समय लाग्ने स्पष्ट भएको छ। मंगलबारदेखि अवरुद्ध बनेको यो खण्ड अझै पनि पूर्णरूपमा बन्द छ।
डिभिजन कार्यालयले आवश्यक नपरेसम्म उक्त मार्ग प्रयोग नगर्न यात्रु र सवारीचालकलाई आग्रह गरेको छ। वैकल्पिक मार्ग प्रयोग गर्नसहित सावधानी अपनाउन अनुरोध गरिएको छ।