हेमा भट्ट, असोज ९, २०८२
धनगढी-चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानजिक खसेको ठूलो पहिरो दुई दिनको अथक प्रयासपछि पन्छाइएपछि जीवनरेखा सरहको मुग्लिङ–नारायणगढ सडक फेरि सञ्चालनमा आएको छ।
मंगलबार दिउँसो गएको भीषण पहिरोले सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए। यात्रुहरूले रातभर सडक छेउमै बिचल्ली सहनुपरेको थियो। कसैले पसलमा तातो चियाको भरमा रात काटे, कसैले सवारीमै अँध्यारो रात बिताए। बिरामी बोकेर गन्तव्यतर्फ हिँडेका, घर फर्कँदै गरेका र अत्यावश्यक काममा लागेकाहरू सबैजना दुःखमा परे।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार करिब १२ देखि १४ हजार घनमिटर माटो र ढुंगामाटोले सडक पुरिएको थियो। यस्तो ठूलो पहिरो हटाउन मेसिनरी मात्र नभई मजदुर, सुरक्षाकर्मी र प्राविधिक टोलीको निरन्तर प्रयास आवश्यक भयो। दिनको घाम, रातको अँध्यारो र कठिन भौगोलिक अवस्थाबीच फ्लडलाइटको सहायताले निरन्तर काम गरेपछि बिहीबार राति करिब साढे १० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै दुई दिनदेखि अल्झिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ अघि बढे। यात्रुहरूको अनुहारमा थकाइ भए पनि खुसी झल्किन्थ्यो।
मुग्लिङ–नारायणगढ सडक देशकै प्रमुख जीवनरेखा मानिन्छ। काठमाडौं र पूर्व–पश्चिमबीचको आपूर्ति यही मार्ग हुँदै हुने भएकाले सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी ढुवानी प्रभावित भई आपूर्ति संकटको डर बढ्छ। यसपटक पनि ट्यांकर र ट्रकहरू बाटैमा रोकिएका थिए।
यद्यपि सडक सञ्चालनसँगै तत्कालीन राहत मिलेकामा खुशी व्यक्त भए पनि स्थानीयवासी अझै सशंकित छन्। तुइन खोलाको भूगोल असुरक्षित भएकाले वर्षा याममा पहिरो खस्ने क्रम दोहोरिँदै आएको छ। “आज सडक खुल्यो, भोलि फेरि पहिरो खस्ला कि भन्ने डर सदैव रहिरहन्छ,” इच्छाकामना–५ का एक स्थानीयले भने।
यो घटनाले फेरि एकपटक देखाएको छ— नेपालकै यातायात प्रणाली कति असुरक्षित छ भन्ने वास्तविकता। हरेक वर्ष वर्षायामसँगै यात्रुहरूको जीवन जोखिममा पर्ने गरेको छ। विशेषज्ञदेखि स्थानीयसम्म अब दीर्घकालीन समाधान खोज्नुपर्ने आवाज उठ्न थालेको छ।