उपत्यकामा चाडपर्व लक्षित ट्राफिक वाल्क : जनचेतनामूलक सन्देशसहित प्रहरीको संयुक्त पहल

खेमराज भट्ट, असोज १२ काठमाडौं-चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा बढ्ने यात्रु आवागमन, भीडभाड र सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त रुपमा “ट्राफिक वाल्क कार्यक्रम” आयोजना गरेका छन्।

रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सुरु भएको र्यालीमा प्रहरी, ट्राफिक स्वयंसेवक, विद्यार्थी, विभिन्न संघसंस्था तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले “सुरक्षित यात्रा सबैको चाहना”, “पिउनुहोस् तर गाडी चलाउनुस् नसोच्नुहोस्”, “सडक हाम्रो, सुरक्षा हाम्रो” जस्ता सन्देश अंकित प्लेकार्ड बोकेर पदयात्रा गरेका थिए।

र्याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमै पुगेर औपचारिक सभामा परिणत भयो। सभामा वक्ताहरूले चाडपर्वमा यात्रु र चालक दुवैलाई सजग रहन, मादक पदार्थ सेवनपछि सवारी नचलाउन, सवारीमा ओभरलोड नगर्न तथा ट्राफिक नियम कडाइका साथ पालना गर्न आह्वान गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखले मन्तव्य राख्दै भने,
“चाडपर्वमा सबै नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। नियम पालना नगरी हुने दुर्घटनाबाट अनावश्यक क्षति हुन्छ। यो अभियानमार्फत हामीले जनतालाई सजग बनाउन खोजेका हौं।”

त्यस्तै, महानगर प्रहरी बलका प्रतिनिधिहरूले संयुक्त प्रयासमार्फत मात्र सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने उल्लेख गरे।

कार्यक्रमका क्रममा सडकमा उत्रिएका प्रहरी र स्वयंसेवकहरूले चालक तथा पैदलयात्रीलाई सचेतनामूलक पर्चा वितरण गरेका थिए। उत्साहजनक सहभागितासहित सम्पन्न कार्यक्रमले स्थानीयवासीमा सकारात्मक सन्देश पु¥याएको आयोजकले विश्वास व्यक्त गरेका छन्।

समापनमा आयोजक संस्थाले चाडपर्वको रमाइलो समयलाई सुरक्षित, अनुशासित र नियमअनुसार मनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply