काठमाडौं — भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घटेका घटनाहरूको यथार्थ पत्ता लगाउने उद्देश्यले गठन गरिएको “भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२” ले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी दिएको छ।
नेपाल सरकारले आयोगलाई उक्त घटनाका भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणहरू पत्ता लगाई प्रतिवेदनसहित सुझाव दिने जिम्मेवारी तोकेको आयोगले जनाएको छ। साथै, क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय दिने कार्यसमेत आयोगको दायित्वमा पर्ने उल्लेख गरिएको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार फौजदारी वारदातमा विस्तृत अनुसन्धान वा अभियोजन गर्ने अधिकार भने आयोगको कार्यक्षेत्रभित्र पर्दैन।
उनले भने, “फौजदारी कसूरमा संलग्न जो–कोही व्यक्तिलाई अनुसन्धान र कारबाही गर्ने अख्तियारी नेपाल सरकारका सम्बन्धित संयन्त्रहरूसँगै रहन्छ, त्यसका लागि आयोगको प्रतिवेदन कुर्नुपर्ने आवश्यकता छैन।”
आयोगले २०८२ असोज २१ गते जारी गरेको विज्ञप्तिअनुसार प्राप्त जाहेरी, निवेदन र कागजातहरू जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइएको छ।