अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको खराब रेकर्ड

कात्तिक २८
फिफा विश्वकप २०२६ अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले आयरल्यान्डससँग २-० गोलको हार बेहोरेको छ। हारसँगै पोर्चुगलको विश्वकपमा सिधा छनोट अझ कुर्नु पर्ने भएको छ।

खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्ड देखाइएको थियो।

खेलको पहिलो हाफमा आयरल्याण्डका ट्रोई प्यारटले दुई गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रोनाल्डोले आयरल्याण्डका डिफेन्डर दारा ओ’शेलाई कुहिनोले हानेपछि उनलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो।

तर, भिडियो सहायक रेफ्री (भार) ले खेलका रेफ्री ग्लेन न्याबर्गलाई घटनाको समिक्षा गर्न सल्लाह दिएपछि रोनाल्डोको पहेँलो कार्ड रातो कार्डमा परिणत भयो।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोको लागि यो रात निराशाजनक रह्यो। पोर्चुगलका लागि २२६ औं खेल खेल्दै गर्दा उनलाई पहिलो पटक रातो कार्ड देखाइएको हो।

यो जितले पोर्चुगललाई एक खेल बाँकी छँदै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गर्न सक्थ्यो। तर प्यारटको दुई गोलले पोर्चुषललाई रोक्यो। यता जितले आयरल्याण्डको छनोटको आशा जीवित राख्यो।

पोर्चुगल अझै पनि समूह ‘एफ’ मा शीर्ष स्थानमा छ। अन्तिम खेलअघि उसको १० अंक छ। दोस्रो स्थानको हंगेरीको ८ अंक छ। शीर्ष टोली मात्र सिधा छनोट हुनेछ। अब आइतबार आर्मेनियालाई हराएमा पोर्चुगल सातौं पटक विश्वकपमा स्थान पक्का गर्नेछ।

आर्मेनियाविरुद्धको घरेलु खेलमा रोनाल्डो अनुपस्थित हुनेछन्। उनको निलम्बनको अवधि अनुशासन समितिले निर्णय गर्नेछ।

आयरल्याण्डले आइतबार बुडापेस्टमा हंगेरीलाई हराएमा प्ले-अफमा स्थान सुरक्षित गर्नेछ। बुधबार पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डोले आयरिस प्रशंसकहरूले उनलाई जिस्काउनबाट रोक्नको लागि आफू ‘असल केटा’ बन्ने प्रयास गर्ने बताएका थिए।

तर साउदी क्लब अल-नासरका सुपरस्टार रोनाल्डोले आयरल्याण्डको पेनाल्टी क्षेत्र भित्र ओ’शेलाई हानेपछि र अनुहारबाट आँसु पुछ्ने नाटक गरेपछि डब्लिनका दर्शकहरूबाट तीव्र आलोचनाको सामना गर्नुपर्‍यो।

रातो कार्ड पाएपछि रोनाल्डोले आयरल्याण्डका प्रशिक्षक हेइमिर हाल्ग्रिमसनसँग केही कुरा गरे र दर्शकहरूलाई व्यंग्यात्मक रूपमा ताली बजाए। त्यसपछि उनले आयरल्याण्डका प्रशिक्षकसँग हात मिलाएर टनेलतिर लागेका थिए।

खेलको तयारीमा रोनाल्डोले हाल्ग्रिमसनलाई ‘माइन्ड गेम्स’ खेलेको आरोप लगाएका थिए। हाल्ग्रिमसनले रेफ्रीलाई रोनाल्डोबाट प्रभावित नहुन आग्रह गरेका थिए।

उनले यसअघि आयरल्याण्डविरुद्ध दुई पटक पेनाल्टी मिस गरिसकेका थिए।

यस खेलमा पनि उनले एक सट बारमाथि हानेका थिए र फ्री-किक पनि भित्तामा लागेको थियो। उनी झन्झन् निराश हुँदैगएका थिए र खेलको प्रमुख घटनाको रूपमा रातो कार्ड पाएका थिए।

रोनाल्डोबाहेक पोर्चुगल ब्रुनो फर्नान्डिस पनि निलम्बनका कारण अनुपस्थित थिए। पहिलो हाफमा जोआओ फेलिक्सले हेड माथि हानेका थिए भने दोस्रो हाफको दुई मिनेटपछि भिटिन्हाले खाली पोस्टमा सट हानेका थिए।

मार्चमा डेनमार्कसँग नेसन्स लिगमा १-० को हार बेहोरेपछि पोर्चुगलको यो पहिलो हार हो।

आयरल्याण्डको यो १९९५ देखि पोर्चुगलमाथि सातौं प्रयासमा पहिलो प्रतिस्पर्धात्मक जित हो। २००२ पछि पहिलो पटक विश्वकपमा पुग्ने उनीहरूको प्रयासमा यो महत्वपूर्ण जित समेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply