मंसिर १९
कृष्ण केसी / बाँके–राप्ती सोनारी — नेपालका किसानहरू उत्पादन वृद्धि भए पनि मूल्य नपाएको, सरकारी संरक्षण कमजोर रहेको र बजारमा भारतीय चामल–धानको प्रतिस्पर्धाले कृषि पेशा नै धरापमा परेको गुनासो गर्न थालेका छन्। बाली रोपाइँदेखि भित्र्याइँसम्मको मेहनत बढिरहेका किसानहरू दिन–प्रतिदिन निराश हुँदै गइरहेका छन्।
बाँके–राप्ती सोनारी–०८ का कृषक हरिश्चन्द्र केसीले भने, “उत्पादन बढ्यो, लागत बढ्यो, तर मूल्य झन् घट्दै गइरहेको छ। यस्तो अवस्थामा कृषि पेशा टिक्दैन।” यो आवाज अहिले देशभरका कृषकहरूको सामूहिक पीडा जस्तै सुनिन थालिएको छ।

तोरी र धानको मूल्य वर्षैपिच्छे घट्दै- २०७९/८० सालमा प्रति क्विन्टल १६–१७ हजार पर्ने तोरी यस वर्ष झर्दै ११–१२ हजारमा पुगेको छ। किसानहरूका अनुसार यस वर्ष तोरीको माग कमजोर रहेकाले धेरै बाली नकदर नै बस्यो। त्यस्तै, मोटाे धानको मूल्य पनि लगातार घटिरहेको छ।२०७९/८० : प्रति क्विन्टल ३३००–३४००,हाल : २६००–२७०० मात्रै किसानको लागत भने वर्षेनी बढिरहेको उनीहरूको भनाइ छ।
समर्थन मूल्य घोषणा भए पनि खरिद शून्य- नेपाल सरकारले यस वर्ष धानको समर्थन मूल्य प्रति क्विन्टल ३४६८ रुपैयाँ तोकेको छ। तर किसानहरूको आरोप छ—सरकारले मूल्य घोषणा गरे पनि खरिद निकायले धान नउठाइ किसानलाई बजारमा छोडिदिएको छ। खाद्य संस्थानले धान खरिद कोटा बढाए पनि, किसानले बुझाएको धान नउठाएको, समयमै तौल–मापन नगरेका र प्रक्रिया धिमा रहँदा किसान बजारकै कम मूल्यमा बेच्न बाध्य भएको उनीहरूको गुनासो छ।

भारतसँग प्रतिस्पर्धा असम्भव, उत्पादन लागत तीनगुना महँगो- किसानहरूका अनुसार नेपालमा उत्पादन लागत भारतको तुलनामा अत्यधिक महँगो छ।
भारतमा एक बोरा युरिया मल २४७ भारतीय रुपैयाँमा सहजै उपलब्ध हुन्छ भने नेपालमा अनुदान मूल्य ११०० तिरेर पनि पाइँदैन। सिंचाइ, बीउ, औजार र कृषि सेवामा पनि भारतमा सहुलियत र सब्सिडी सहजै उपलब्ध हुने भएकाले प्रतिस्पर्धा असम्भव बराबर बनेको कृषकहरूको भनाइ छ। कृषक हरिश्चन्द्र केसीका अनुसार, “धान बचाउन धेरै किसानले साउनमा ३५०० पर्ने चोरी मल किन्नुपर्यो। यो पराजय होइन त के हो?”
१० अर्ब बराबरको धान–चामल आयातले किसान थप निराश- गोरखापत्र दैनिकको मंसिर १४ गतेको समाचारअनुसार सरकारले कात्तिक महिनासम्म भारतबाट १० अर्ब रुपैयाँ बराबरको धान तथा चामल भन्सार–रहित रूपमा आयात गरेको छ।
किसान संगठनहरूका अनुसार धान उत्पादन पर्याप्त रहेको वर्षमै यस्तो ठूलो परिमाणमा आयात गर्नु किसानमाथिको अन्याय हो। महजस्तै अन्य कृषि उत्पादन नेपालमै पर्याप्त भए पनि भारतबाट आयात भइरहेको तथ्यले किसानलाई निराश बनाएको छ।
धान मिल उद्योग ५०% ले खुम्चियो- गत वर्ष सञ्चालनमा रहेका धेरै धान मिल उद्योग यस वर्ष ५० प्रतिशतसम्म घटेका छन्। उद्योगीहरूका अनुसार बजारमा भारतीय चामल सस्तो मूल्यमा बाढी भएर आएकाले नेपाली धान प्रशोधन उद्योग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुन थालेका छन्। केही उद्योगमा गत वर्षको धान नै थन्किएको छ, नयाँ बाली प्रोसस गर्ने ठाउँ र माग दुवै घटेको मिल सञ्चालकहरूको भनाइ छ।

कृषि होइन, विदेशिने विकल्पलाई किसानले रोज्दै- कृषकहरूको आम धारणा अब कृषि पेशाबाट जीवन धान्न कठिन भएको छ। लगानी, मेहनत र जोखिमको परिणाम नआएपछि धेरै किसान विदेशिन चाहने अवस्थामा पुगेका छन्।
केसी भन्छन्, “अवसर पाए ५० वर्ष नाघेकाहरू पनि विदेश जान तयार छन्। छोराछोरीलाई कृषि पेशामा रोक्न अभिभावकसँग आधार छैन।”
बैंकमा १२ खरब लगानीयोग्य रकम थन्किँदा पनि कृषि र उद्योग संकटमा- देशभरका बैंकमा १२ खरबभन्दा बढी लगानीयोग्य रकम थन्किए पनि उद्योग, व्यापार र कृषि क्षेत्रमा लगानी प्रवाह हुन नसकेको छ। विगत केही वर्षयता सरकारको नीति अस्थिर, अनिश्चित र दीर्घकालीन योजना अभाव भएको व्यवसायी र किसानहरूको आरोप छ। मौद्रिक नीतिले मात्रै समाधान नआउने, उत्पादन क्षेत्रमै सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ। त्यस्तै, युवा रोजगारी अभाव, बढ्दो विदेशिनुको दर र कृषिमा घट्दो आकर्षणले ग्रामीण अर्थतन्त्र कमजोर हुँदै गएको विशेषज्ञहरूको भनाइ छ।
किसानको अन्तिम चेतावनी—कृषि जोगाउने कि जोगिन दिने?
कृषकहरू भन्छन्—सरकारी नीति स्पष्ट छैन,अनुदान समयमा पाइँदैन,बजार संरक्षण छैन,आयातमा उदारता, उत्पादनमा उपेक्षा
,उच्च बैंक ब्याजदरले लगानी कठिन,बाँके–राप्ती सोनारीका किसान हरिश्चन्द्र केसी भन्छन्,हामीसँग खेत छ, मेहनत छ, बाली छ। तर बजार र सरकार छैन। यस्तो अवस्था रहिरहे नेपालमा किसान टिक्दैन, कृषि बच्दैन।

