आचार्य सञ्जेल महाराजलाई ‘राष्ट्रिय धरोहर आध्यात्मिक प्रवाचक सम्मान २०८२’

हेमा भट्ट, पुस १८
काठमाडौँ — अध्यात्म दर्शन र सनातन संस्कृतिको संरक्षण तथा संवर्धनमा उल्लेखनीय योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष, अन्तर्राष्ट्रिय भागवत भूषण परम पूज्य आचार्य श्री सञ्जेल महाराजजीलाई “राष्ट्रिय धरोहर आध्यात्मिक प्रवाचक सम्मान २०८२” प्रदान गरिएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको तत्वावधानमा आयोजित उक्त सम्मान कार्यक्रम नेपाल पर्यटन बोर्डको सभागार, काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको हो। राष्ट्रभक्तिको भावले ओतप्रोत कार्यक्रम शान्त, गरिमामय तथा अनुशासित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डप्यजीले गर्नुभएको थियो भने नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विशिष्ट अतिथिहरूमा वरिष्ठ उद्योगपति तथा समाजसेवी डा. भवानी राना, चर्चित चलचित्र अभिनेता प्रदीप खड्का, मिस नेपाल लूना लुईटेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै धार्मिक, सांस्कृतिक, साहित्यिक, सामाजिक तथा राजनीतिक क्षेत्रका विद्वान् गुरुजन, वरिष्ठ कवि, कलाकार, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले आचार्य सञ्जेल महाराजले अध्यात्म दर्शनमार्फत समाजमा नैतिक मूल्य, संस्कार, अनुशासन र राष्ट्रिय चेतनाको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। उहाँका प्रवचन, साधना र सामाजिक अभियानहरूले युवापुस्तालाई सनातन संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको वक्ताहरूको भनाइ थियो।

सम्मान प्रदान गर्नुको उद्देश्य अध्यात्मिक तथा सांस्कृतिक क्षेत्रका योगदानकर्तालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनु र भावी पुस्तालाई संस्कारमुखी दिशातर्फ प्रेरित गर्नु रहेको आयोजक संस्थाले स्पष्ट पारेको छ।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै आचार्य सञ्जेल महाराजजीले सनातन संस्कृतिको संरक्षण केवल धार्मिक कर्तव्य नभई राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले अध्यात्मले समाजमा सद्भाव, सहिष्णुता र नैतिक विकासलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै यस्ता सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउनुभयो।

कार्यक्रम राष्ट्र, संस्कृति र अध्यात्मप्रतिको प्रतिबद्धताको सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply