अमेरिकी आक्रमणपछि भेनेजुएला तनावग्रस्त, अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र

काठमाडौं — भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य कारबाहीपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्को प्रतिक्रिया देखिएको छ । भेनेजुएला सरकारले यस कदमलाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर हमला भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन औपचारिक माग गरेको छ ।
भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको दाबी गर्दै सुरक्षा परिषद्ले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन् । उनका अनुसार यो कारबाहीले सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रको स्थायित्वमा खतरा उत्पन्न गरेको छ ।
अमेरिकी कारबाहीपछि भेनेजुएलामा सत्ता परिवर्तन हुन सक्ने अड्कलबाजी पनि तीव्र भएको छ । खोज पत्रकार लौरा लुमरले राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गर्ने तयारी भइरहेको दाबी गरेकी छन् । यद्यपि, यस विषयमा भेनेजुएला सरकार वा कुनै आधिकारिक निकायबाट पुष्टि भइसकेको छैन ।
यस घटनाप्रति रुसले कडा आपत्ति जनाएको छ । रुसको विदेश मन्त्रालयले अमेरिकाको कदमलाई “सशस्त्र आक्रमण”को संज्ञा दिँदै कुनै पनि देशले बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार राख्ने स्पष्ट पारेको छ । रुसले सुरक्षा परिषद्को आपत्कालीन बैठकको मागलाई समर्थन गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, इरानले पनि अमेरिकी सैन्य आक्रमणको तीव्र निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघ चार्टरको उल्लंघन भनेको छ । इरानले भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै कुनै पनि किसिमको सैन्य हस्तक्षेप अस्वीकार्य हुने चेतावनी दिएको छ ।
यता, अमेरिकाका एक रिपब्लिकन सिनेटरले राष्ट्रपति मादुरोलाई पक्राउ गरी अमेरिकामै कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको दाबी गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको छलफलपछि यस्तो प्रक्रिया सुरु भएको उनको भनाइ छ ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजनीतिक भविष्य अनिश्चित बनेको छ भने विश्व राजनीतिमा नयाँ तनावको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply