खेमराज भट्ट,पुस २१
नवलपरासी (ब.सु.पूर्व), कावासोती – “सम्बृद्ध सदस्य सहितको सबल र सुरक्षित वित्तीय सहकारी” भन्ने मूल नारासहित पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
VXL शिक्षा तथा पौरखी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (ब.सु.पूर्व), कावासोतीको सहकार्यमा मिति २०८२ साल पौष २१ गते सोमबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य शीतलहरको समयमा सडक सुरक्षा सुनिश्चित गर्नु र दुर्घटना न्यूनीकरणमा समुदायलाई सचेत बनाउनु रहेको थियो। ट्राफिक प्रहरीले सहभागीहरूलाई सवारी चलाउनु अघि सवारी साधनको अवस्था जाँच गर्ने, हेडलाइट, ब्रेक र वाइपरको सही प्रयोग, चिप्लो सडकमा ब्रेकिङ दूरी बढाउने, गति नियन्त्रण र मोड तथा घुम्तीमा हर्नको प्रयोगजस्ता विषयमा प्रशिक्षण र जानकारी प्रदान गरेको थियो।
त्यसैगरी सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्नु, दृश्यता कम भएको अवस्थामा फग लाइट प्रयोग गर्नु, जथाभावी पार्किङ नगर्नु, मोटरसाइकल चालकले टल्कने वा सेतो ज्याकेट प्रयोग गर्नु तथा पैदल यात्रुले फुटपाथ, आकाशे पुल र जेब्राक्रसिङ प्रयोग गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा सहभागीहरूलाई “छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ” भन्ने सन्देशसमेत दिइएको थियो। दुर्घटना न्यूनीकरण र आपतकालीन अवस्थामा नेपाल प्रहरी १०० र ट्राफिक प्रहरी १०३ नम्बर प्रयोग गर्नसमेत सबैलाई अनुरोध गरिएको थियो।
सहकारी संस्थाका प्रतिनिधिहरूले भने कि यस्ता सामाजिक सचेतनामूलक कार्यक्रमहरूले समुदायमा सुरक्षित सवारी संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम पूर्व–पश्चिम राजमार्गमा सडकमा ब्यानर र सुझाव–सल्लाहसहित व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो।
